नवलपुर । नवलपुरमा म्यादी प्रहरीमा भर्ना हुन मागभन्दा तेब्बर बढिले आवेदन दिएका छन्। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न नवलपुरमा ३ हजार ३ सय २३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू रहेका छन्।
आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय नवलपुरमा ३ हजार ३ सय २३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले बताए । जसमा ७ सय ३१ जना महिला र २ हजार ५ सय ९२ जना पुरुषले आवेदन दिएका हुन । उनका अनुसार नवलपुरमा १ हजार ३० जना म्यादी प्रहरी माग भएको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी भर्ना, छनाेट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।
प्रकाशित : २०७८ चैत १२ गते ८:१७
Facebook Comment