मौसममा सुधार नआउँदा कृषक चिन्तित

NAWALPUR TIMES

मौसममा सुधार नआउँदा कृषक चिन्तित
download

कावासोती(रासस )। मौसममा सुधार नआउँदा पूर्वी नवलपरासीका कृषक चिन्तित भएका छन्। गत बुधबारदेखि अविरलरुपमा भएको वर्षा शुक्रबारदेखि रोकिँदा राहत महसुस गरेका कृषकमा आइतबार रातिदेखि वर्षा हुन लागेपछि चिन्ता थपिएको छ।

जिल्लाको अधिकांश किसानका खेतमा धान पाकेर काट्ने अवस्थामा पुगेको भए पनि मौसममा सुधार नआउँदा समयमै धान भित्र्याउन नपाइने पीरले कृषकलाई सताएको छ। एक बिघा खेतमा धान काट्ने बेला भए पनि मौसममा सुधार आउन नसकेपछि धान काट्न नसकिएको कावासोती– १३ का कृषक चेतनारायण चौधरी बताउछन्।

जिल्लाको देवचुली, गैँडाकोट, कावासोतीलगायतका स्थानमा लगातार वर्षाका कारण पाकेको धानका बोट खेतमै ढलेको छ। खेतमा ढलेका धानका बाला बोटमै उम्रने चिन्ताले सताएको देवचुली– १५ का कृषक वसन्त पोख्रेल बताए। धान पाक्ने बेलामा परेको बेमौसमी वर्षा र त्यसपछिको बाढीले जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको बगुवन र सिसेनीमा करिब दुई सय ५० बिघा पाक्न लागेको धान डुबाएको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल शर्मा लामिछानेले बताए।  “कृषकको चिन्ता स्वाभाविक हो, अहिलै त बिग्रेको छैन तर मौसममा छिट्टै सुधार नआए समस्या हुन सक्छ”, लामिछानेले बताए।

यस वर्ष जिल्लामा १८ हजारभन्दा धेरै क्षेत्रमा धानखेती गरिएको भए पनि बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आउनसक्ने प्रमुख लामिछानेले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology