मृतकको परिवारसंग गरेको सम्झौता अक्षरशः पालना गर्छौं : नगरप्रमुख भुसाल

NAWALPUR TIMES

मृतकको परिवारसंग गरेको सम्झौता अक्षरशः पालना गर्छौं : नगरप्रमुख भुसाल
Messenger creation 18822a94 ac7c 447b 934c 39f3e2fdf31e

सालिकराम कोइराला, कावासोती । नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका परिवारसंग कावासोती नगरपलिकाले गरेको सम्झौता अक्षरशः कार्यान्वयन गरिने नगर प्रमुख विष्णु भुसालले जानकारी गराएका छन्।

बुधवार विहान मृतकहरूको घरमा आयोजित श्रद्वाञ्जली सभालाई सम्बोधन गर्दै मेयर भुसालले उक्त कुरा बताएका हुन्। ३१ जेठमा कावासोती-२ थाना चोक नजिकै नाला खन्ने क्रममा सेती राना, चमेली सिंजाली र तानमायाँ मश्राङ्गीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो। उनिहरू सबै कावासोती-५ लक्ष्मीनगर निवासी हुन्।

महिलाहरूले ज्यान गुमाएको भोलिपल्ट कावासोती बजार तनावग्रस्त बनेको थियो। पिडितले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रदर्शन गर्दा कावासोती नगरपालिका र मेयर विष्णु भुसालको घर समेत तोडफोड भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो।

प्रदर्शन पछिको वार्तामा पिडित परिवारसंग १० बुँदे सहमति भएपछि आन्दोलन मत्थर भएको थियो। श्रद्वाञ्जली सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतले पालिकासंग भएको सम्झ्यौताको अतिरिक्त पिडित परिवारलाई पार्टीले थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे।

श्रद्वाञ्जली सभामा एमालेका  नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो। मृतकहरूको घर परिवारमा क्रमैसंग आयोजना गरिएको सभामा मेयर भुसालले पालिकाको तर्फबाट किरिया खर्च बापत पचास हजारका दरले पिडित परिवारलाई नगद हस्तान्तरण गरेका थिए। त्यस्तै एमालेको तर्फबाट विजयी वडाध्यक्षहरूले पच्चिस हजारको दरले उपलब्ध गराएको रकम एमाले नेता तिलक महतले परिवारलाई हस्तान्तरण गरेका थिए।

सभामा नेकपा एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठले मृतकका परिवार सबै एमाले कार्यकर्ता भएका कारण पार्टीले अन्तरमनबाटै थप सहयोग गरिने बचन दिए। सो अवसरमा स्थानीय महिला समूहले पनि पिडित परिवारलाई बीस हजार भन्दा बढि नगद सहयोग गरेको थियो। वडाध्यक्ष निरज पुनले मृतकको परिवारको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology