‘माओवादीको नेतृत्वमा मात्रै सबै समस्याको निकास सम्भव’ [प्रतिबद्धतापत्रकाे पूर्णपाठ]
NAWALPUR TIMES प्रकाशित : २०७९ कार्तिक १४ गते १९:३५
Prachanda maoest ghosana2022 10 31 03 49 35
नवलपुर । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विद्यमान सबै समस्याको राष्ट्रिय निकासका लागि माओवादीकाे नेतृत्व आवश्यक रहेकाे बताएका छन्।
प्रचण्डले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्रै नयाँ नेपाल बनाउने सपना साकार पार्न सकिने दाबी गरेका हुन्।
प्रतिबद्धतापत्रमा भनिएको छ, ‘हाम्रो पार्टी वर्तमान संविधान, लोकतन्त्र र परिवर्तनलाई ऐतिहासिक महत्वको क्रान्तिकारी उपलब्धि ठान्दछ र यसको रक्षा गर्न दृढ छ । साथै, हाम्रो पार्टी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न र अन्ततः समाजवाद निर्माण गर्न प्रतिबद्ध छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने.क.पा. (माओवादी केन्द्र) मात्र हो। तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ।’
प्रतिबद्धतापत्रमा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने प्रस्ताव गरेको छ। साथै माओवादीले संघीयताका प्रभावकारी कार्यान्वयनका लागि प्रत्यक्ष जननिर्वाचन प्रदेश प्रमुख चुन्नुगर्ने बताएकाे छ।
‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ । संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ । प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ। १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद र समग्रमा ३३० सिटको प्रदेशसभा हुनेछ,’ प्रतिबद्धतापत्रमा उल्लेख छ।
प्रतिवद्धतापत्रमा माओवादीले प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक रहेको औल्याएको छ।
Facebook Comment