मन ठूलो भएकी ‘पियारी आमा’

NAWALPUR TIMES

मन ठूलो भएकी ‘पियारी आमा’
piyari aama

कावासोती । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरें, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।’

गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन् । पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी हुन् । निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घर मात्रै छ ।

विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी छन् । ‘मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिन हुन्न’, उनले भनिन्, ‘त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।’ पियारी आमाले आफूसँग भएको जग्गा मात्रै होइन, उनका श्रीमान भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सन समेत अरुलाई सहयोग गर्ने गरेकी छन् । विशेष गरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।

पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । ‘अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नु भएको छ’, उनले भने । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मान समेत गरेको छ ।

शिक्षाको विकासका लागि निःस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । ‘शिक्षाको विकासमा बिना स्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनु पर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ’, उनले भने । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology