मन्त्री बने लगत्तै बुहारीलाई जागिर

NAWALPUR TIMES

मन्त्री बने लगत्तै बुहारीलाई जागिर
1675220018281

कावासोती । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाले बुहारीलाई यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्व नवलपुरमा अस्थायी कम्प्युटर अपरेटर (पाँचौं तह) मा बिना प्रतिस्पर्धा नियुक्तिका लागि सम्बन्धित मन्त्रालयबाट पत्रचार गराएका छन् ।

गाहाले मन्त्री पदको पदभार ग्रहण गरेको भोलिपल्ट माघ १२ गते गाहाकी बुहारी सजिना थापा भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशको पत्र लिएर करारमा जागिर खान यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्व पुगेकी हुन् ।

थापालाई अस्थायी कम्प्युटर पाँचौं तह मा नियुक्त गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्वलाई पत्र लेखेको छ । मन्त्रालयका अधिकृत दशौं टिकाराम पौडेलले हस्ताक्षर गरेको चलानी नं. ७४० को माघ ६ गतेको पत्रमा स्वीकृत दरबन्दी तेरिज अनुसार कार्यालयमा रहेको अस्थायी कम्प्युटर अपरेटर पाचौं तहको रिक्त पदमा थापालाई नियमानुसार कार्यालयबाट नै सेवा करारमा व्यवस्थापन हुन आदेशानुसार अनुरोध गरिएको छ ।

थापाले यातायात व्यवस्था कार्यालयमा पेश गरेको कागजात अनुसार माघ ३ गते उक्त पदमा जागिर पाउँ भन्दै मन्त्रालयमा निवेदन पेश गरेको देखिन्छ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको मन्त्रालय विभाजन नभएको उक्त समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रमा मन्त्रालयका सचिवलाई आवश्यक कारवाहीको लागि तोक आदेश गरेका छन् ।

गण्डकी प्रदेशमा माघ १० गते मात्रै मन्त्रालयहरुको भागवण्डा गरिएको थियो । सोही दिन नवलपुर प्रदेशसभा क्षेत्र नं. १ (ख) बाट दोस्रो पटक निर्वाचित गाहाले मन्त्री पदको सपथ ग्रहण गरेका थिए । गाहाले माघ ११ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । गाहाले पदभार ग्रहण गरेको भोलिपल्ट माघ १२ गते मात्रै गाहाकी बुहारी सजिना मन्त्रालयको पत्र लिएर यातायात व्यवस्था कार्यालय पुगेकी हुन् ।

एमाले नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन देखि नै मन्त्री पदका मुख्य दावेदार रहेका गाहालाई एमाले संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री अधिकारीले दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । संसदिय दलको प्रमुख सचेतक र मन्त्रीको मुख्य दावेदार रहेकै समय गाहाकी बुहारी सजिनाले करारमा नियुक्तिको प्रक्रिया अगाडी बढाएको देखिन्छ ।

मन्त्रालयबाट प्राप्त पत्रको आधारमा थापालाई हाजिर गराउने प्रक्रिया थालिएको यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्वका प्रमुख टेक बहादुर घर्तीले बताए । हाल सम्म थापालाई नियुक्तीको पत्र दिई नसकेको घर्तीले बताए । माघ ११ गते मन्त्रालयको पत्र लिएर कार्यालय आएकी थापा माघ १२ गते बाहेक निरन्तर रुपमा कार्यालयमा आउने र कम्प्युटर सिक्ने कार्य गरिरहेको उनले बताए ।

कार्यालयमा रहेको स्वीकृत दरबन्दीमा यस अगाडी कार्यरत रहेका कम्प्युटर अपरेटरहरुको करार सम्झौता नविकरण नहुदाँ अहिले उक्त पद रिक्त देखिएका हो । यस अगाडी करारमा रहेका व्यक्तिहरु पनि अहिले कार्यालयमा नियमित कार्यरत रहदै आएका छन् ।

मन्त्री गाहाले यस अगाडी प्रदेश सभा सदस्य हुदा बुहारी सजिना थापालाई नै आफ्नो स्वकीय सचिवको रुपमा नियुक्ती गरेका थिए । परिवारको सदस्यलाई स्वकीय सचिव नियुक्ती गरेर आफैले सुविधा बुझेको भन्दै सो समयमा समेत गाहाको आलोचना भएको थियो ।-यो समाचार आजको नमूना सन्देश साप्ताहिकमा प्रकाशित छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology