मनीषा पण्डित एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष

NAWALPUR TIMES

मनीषा पण्डित एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष
Manisha pandit

कावासोती । धनुषा जिल्लाकी मनीषा पण्डित एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष हुनुभएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियानको संयोजकत्वमा प्लान इन्टरनेशनललगायतको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुसँगको सहकार्यमा गर्ल्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत उहाँ शुक्रबार गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष बन्नुभएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बालिका मनीषा पण्डितलाई अध्यक्ष पदको जिम्मेवारी दिंदै यस महासङ्घले नेपालका ४६० गाउँपालिकाको विकासका लागि विश्वका अन्य देशका गाउँ, नगरको विकासको प्रकृतिबारे अध्ययनका साथै नेपालको माटो सुहाउँदो योजनाहरु कार्यान्वयनको काम गर्ने समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालका सबै गाउँपालिकालाई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुद, जन्मदर्तालगायतका बालअधिकारमैत्री बनाउन महासङ्घले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष बन्नुभएकी मनीषा पण्डितले सबै गाउँपालिकालाई बालमैत्री, पोषणमैत्री, युवामैत्री बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।गर्ल्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत धनुषा जिल्लाकै चन्चल मण्डल राष्ट्रिय बालअधिकार परिषद्को एक दिनका लागि उपाध्यक्ष बन्नुभएको थियो । परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष बानियाँले राष्ट्रिय बालअधिकार परिषद्को स्थापनाको उद्देश्य र लक्ष्य कार्यक्रमबारे जानकारी दिंदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउने प्रयत्नको सराहना गर्नुभयो । उहाँले बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनललगायत बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले सञ्चालन गरेको कार्यक्रमले बालबालिकामा जिज्ञासा तथा प्रश्न गर्ने क्षमताको विकास भएको भन्दै खुुसी व्यक्त गर्नुभयो ।

बालबालिका शान्ति क्षेत्र अभियानका महासचिव तिलोत्तम पौडेलले बालबालिकाको सर्वाङ्गीण विकास र अधिकारबारे जागरण फैलाउने क्रममा उनीहरुको नेतृत्व विकासको अभ्यासका लागि गरिएको गर्ल्स चाइल्ड टेक ओभर कार्यक्रमले बालिका/किशोरीमा नेतृत्वदायी क्षमताको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

अभियानका कार्यकारी निर्देशक आत्मराम थापाले यस कार्यक्रमले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र उहाँहरुले नेतृत्वदायी पदमा रहेर निर्वाह गर्नुपर्ने भूमिकाको साङ्केतिक अभ्यासको थालनी भएको बताउनुभयो । प्लान इन्टरनेशनलका लक्ष्मी चौधरीले परम्परादेखि नै विभेद खेप्दै आएका बालिका/किशोरीलाई अब यस विकृतिविरुद्ध लड्दै नीति निर्माण तहको नेतृत्व ग्रहण गर्न सिक्नुपर्छ भन्दै सो संस्थाले बालिका दिवसको अवसरमा विगत वर्षदेखि नै एक दिनका लागि नेतृत्व लिन प्रेरित गर्दै आएको बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology