मनकामना मन्दिर मंसिर २८ गतेबाट खुल्ने

NAWALPUR TIMES

मनकामना मन्दिर मंसिर २८ गतेबाट खुल्ने
FB IMG 16074297181201533

गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवलकार बन्द गरिएको थियो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ,’ उनले भने, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।’ कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको गुरुङ बताए ।

हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् । ‘मन्दिर खुलेपनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो, भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था भने हुन्छ,’ गुरुङले भने ।

मन्दिरमा बिशेष पूजाआजा नहुने र पशुपन्छीको बलि पनि नचढाइने उनले जानकारी दिए । मन्दिर र केवलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

केवलकार पनि सञ्चालनमा आउने

मन्दिरसँगै केवलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संहारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल सेरचनले बताए । ‘मर्मत संहारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उनले भने । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर (एसओपी)’ निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार केवलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ । ‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं,’ सेरचनले भने । केवलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology