मध्यविन्दु नगरपालिकाको आठौं नगरसभा सम्पन्न

NAWALPUR TIMES

मध्यविन्दु नगरपालिकाको आठौं नगरसभा सम्पन्न
received 501470624179060 scaled

तिर्थराज डुम्रे/चोरमारा ।

मध्यविन्दु नगरपालिकाको आठौं नगर सभा अर्ध वार्षिक समिक्षा र पुरक अनुमान वजेट पारित गर्दै सम्पन्न भएको छ । आठौं नगरसभाले आर्थिक वर्ष २०७७÷०७८ का लागि संसोधन सहित चार करोड ७८ लाख २१ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक अनुमान बजेट अनुमोदन गरेको छ ।

चालु खर्च तर्फ एक करोड पाँच लाख रुपैया र पुँजीगत खर्च तर्फ तिन करोड दुई लाख ६३ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक बजेट नगरपालिका उपप्रमुख ओम कुमारी महतोले प्रस्तुत गर्नु भएको थियो । चालु खर्च तर्फ नगरपालिकाले भूमि सम्बन्धि समस्या समाधान आयोगलाई प्राथमिकतामा राख्दै ४२ लाख रुपैया रकम विनियोजन गरेको छ । नगरपालिकाको फोहर व्यवस्थापनको लागि पुरक अनुमानित बजेट मार्फत पूर्वाधर निर्माण गर्न ८० लाख रुपैया विनियोजन गरेको छ ।

मध्यविन्दु नगरपालिकाको यस आर्थिक वर्षको अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै नगर उपप्रमुख महतोले यस अवधिमा विनियोजित बजेटमा सामाजिक विकास तर्फ १३.४४ प्रतिशत, पूर्वाधार विकासमा १४.०८ प्रतिशत, आर्थिक विकासमा २७.७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा २१.८५ प्रतिशत र सुशासन तथा संस्थागत विकासमा ६७.४६ प्रतिशत कार्यप्रगति भएको जानकारी दिनुभयो ।

मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले केही पुँजीगत खर्च शिर्षकमा सम्झौता भई कार्य सम्पन्न हुने चरणमा भएकाले कार्यप्रगति तथ्यांकगत रुपमा कम देखिएपनि वस्तुगत रुपमा राम्रो रहेको बताउनुभयो । केही शिर्षकमा कार्यप्रगति शुन्य प्रतिशत देखिएको भएपनि ति कार्यक्रम कार्यान्वयन चरणमा रहेको र बिल भरपाई फर्छौट हुने चरणमा रहेको जानकारी दिनुभयो ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख रानाले स्थानीय सरकार गठन पछि भएका कामहरुको सहि सुचना प्रवाह स्थानीय जनतासम्म हुन नसक्दा अन्यौलता देखिएको भन्दै उहाँले जनतासम्म निर्वाचन पछि भएका बिकास र समृद्धिका विषयलाई पु¥याउने दायित्व सबै जनप्रतिनिधिको भएको बताउनुभयो । स्थानीय सरकारको सक्रियतामा कोभिड–१९ को कारण सृजित समस्याको सहि व्यवस्थापनको भएकाले अन्य मुलुकमा जस्तो भयाभह स्थीति नेपालमा आउन नपाएको भन्दै उहाँले यस विषयमा सर्वसाधरणलाई सहि सुचना पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

कोभिड–१९ को व्यवस्थापन सहित नगर बिकासमा नगरपालिका अगाडी बढेको भन्दै उहाँले अहिले भूमि सम्बन्धि समस्या समाधानको लागि लगत संकलनको काम नगरपालिकाले गरिरहेको भन्दै जसको नेतृत्वमा जुन सरकार रहेपनि बास्तविक भूमिहिन, दलित, सुकुम्बासीले जमिन पाउने विषयलाई सुनिश्चिता गर्नु पर्ने बताउनुभयो ।
नगरपालिकाको भौतिक संरचना निर्माण, वडा कार्यालय निर्माण, सबै वडामा स्वास्थ्य कार्यालय निर्माण, फोहर व्यवस्थापन, मध्यविन्दु पार्क निर्माण, भूमि सम्बन्धि समस्या सामाधान सहितको कार्यको लागि नगरपालिका क्रियाशिल रहेको भन्दै उहाँले सबैको साथ र सहयोगमा जनताले प्रत्यक्ष अनुभव गर्ने गरी नगरपालिकाले गरिरहेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिका–७ का वडा अध्यक्ष अमृत ज्ञवालीले अन्य स्थानीय तहमा दलहरु बिचको खिचातानीमा नगरसभा पर्ने गरेको भएपनि मध्यविन्दु नगरपालिकामा सधै सबै पक्षको सहमतिमा नगरसभा र बिकासको काम हुने गरेको स्मरण गर्नु भयो । हाल निर्वाचित जनप्रतिनिधिहरुको अब एक वर्ष कार्यकाल बाँकी रहेको भन्दै उहाँले यो अवधिलाई सुनौलो अवधिको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

मध्यविन्दु–२ का वडा अध्यक्ष नारायण पौडेलले मध्यविन्दु नगरपालिका पहाड र नदीले घेरिएको भन्दै भौतिक रुपमा नगरपालिका विकट रहेको बताउनुभयो । सिमित बजेटको सहि सदुपयोग गर्दै जनभावना बमोजिम नगर बिकास गर्न नगरपालिका सफल भएको उहाँले बताउनुभयो ।

नगर सभाको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology