मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

NAWALPUR TIMES

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने
1593153501.vitamin A

काठमाडौँ। सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२ गते देशभर ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आवश्यक तयारी गर्न भनेको छ।

 

स्वास्थ्य मन्त्रालयले भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए क्याप्सुल नखुवाउन भनेको छ।

 

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत् सर्वसाधरणसम्म पुर्‍याउन स्वास्थ्य मन्त्रालयले भनेको छ।

 

“कोभिड–१९ महामारीको सन्दर्भलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाहरूले नियमित रूपमा लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप हाललाई स्थगन गरिएको छ,” स्वास्थ्य मन्त्रालयको पत्रमा भनिएको छ।

 

मन्त्रालयले कोभिड–१९ महामारीलाई ध्यानमा राखी ६० वर्ष नाघेका तथा गर्भवती, सुत्केरी महिला स्वास्थ्य स्वयंसेविकाको वैकल्पिक व्यवस्था गर्न सुझाएको छ।

 

मंसिर ११ र १२ गते भिटामिन एसँगै ६ देखि २३ महिनाका बालबालिकाहरूलाई लक्षित गरी बालभिटा वितरण गर्न पनि मन्त्रालयले भनेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology