भारत सेमिफाइनल पुग्ने सम्भावना लगभग सकियो, अब चमत्कारको मात्रै आशा

NAWALPUR TIMES

भारत सेमिफाइनल पुग्ने सम्भावना लगभग सकियो, अब चमत्कारको मात्रै आशा
1635730664231

काठमाडौं। टि–२० विश्वकप सुरु हुनुभन्दा अघि उपाधिको दावेदार भनेर प्रचार गरिएको भारत विश्वकपको सेमिफाइनलमै नपुग्ने सम्भावना बलियो भएको छ । भारतले अहिलेसम्म देखाएको खेलका आधारमा अब भारत सेमिफाइनल पुग्ला भन्ने आशा गर्ने अवस्था छैन ।

तर, यदि चमत्कार नै भयो र भारतले अचम्मलाग्दो खेल देखाउनुका साथै प्रतिस्पर्धामा रहेका अन्य टिमहरुको खेल समेत भारतले चाहेजस्तो भइदियो भने मात्र भारत सेमिफाइनल पुग्न सक्छ । र, अबका खेलमा सबै कुरा भारतले भनेजस्तो नै होला भन्ने कुनै ग्यारेन्टी छैन । अब भारत आफ्नो प्रदर्शनले मात्रै सेमिफाइनल पुग्न सक्दैन । अरु टिमले पनि उसले चाहेजस्तै प्रदर्शन गरिदिनुपर्छ अनिमात्र भारतले चाहेजस्तो चमत्कार हुन सम्भव छ ।

भारत समूह २ मा छ । यो समूहमा पाकिस्तानले ३ खेल जितेर ६ अंक बनाइसकेको छ । तुलनात्मक रुपमा बलिया मानिने टेस्ट मान्यता प्राप्त तीन टिमलाई हराइसकेको पाकिस्तानले अब एसोसिएट टिमहरु स्कटल्याण्ड र नामिबियासँग मात्र खेल्न बाँकी छ । सबै टेस्ट राष्ट्रलाई हराइसकेको पाकिस्तानले अब एसोसिएट टिमसँग हार्ला भन्ने सम्भावना अत्यन्तै न्यून छ र पाकिस्तान सेमिफाइनल पुग्ने लगभग तय छ ।

दोस्रो स्थानमा अफगानिस्तान छ जसले २ खेल जितेर ४ अंक जोडिसकेको छ । उसले अब न्यूजिल्याण्ड र भारतसँग खेल्न बाँकी छ । दुवै टिम बरियतामा अफगानिस्तानभन्दा अगाडि रहेकोले उसले दुवैसँग हार्ने अनुमान गरिएको छ तर अफगानिस्तानले यो विश्वकपमा जुन हिसाबको प्रदर्शन गरिरहेको छ त्यसको आधारमा भने केही भन्न सकिने अवस्था छैन ।

तेस्रो स्थानको न्यूजिल्याण्डले २ बलिया प्रतिस्पर्धी पाकिस्तान र भारतसँग खेलेकोमा उसले पाकिस्तानसँग हारेको छ र भारतलाई जितेको छ । अब उसले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासँग खेल्न बाँकी छ । यी तीनवटै टिमलाई तुलनात्मक रुपमा न्यूजिल्याण्डभन्दा कमजोर मानिएको छ । यदि न्यूजिल्याण्डले यी तीनवटै टिमलाई जित्यो भने न्यूजिल्याण्ड सेमिफाइनल पुग्नेछ ।

भारतले अहिलेसम्म एक अंक पनि जोडेको छैन । उसले अब सबै खेल जितेको अवस्थामा बढीमा ६ अंक जोड्न सक्छ । भारत सेमिफाइनल पुग्नका लागि अब अरु कुनै पनि टिमले ६ अंकभन्दा बढी अंक जोड्नु हुँदैन । यसका लागि न्यूजिल्याण्डले कुनै पनि हालतमा अफगानिस्तानसँग हार्नुपर्ने हुन्छ । यस्तो भएमा न्यूजिल्याण्ड, भारत र अफगानिस्तानको समान ६ अंक हुन्छ र नेट रनरेट बढी हुने टिम सेमिफाइनल पुग्छ ।

यो अवस्था आइहाल्यो र सेमिफाइनल पुग्न रनरेटकै गणना गरिने भयो भने पनि भारतलाई सहज छैन । भारतले अबका तीन खेल यति ठूलो अन्तरले जित्नुपर्छ कि उसको नेट रनरेट न्यूजिल्याण्ड र अफगानिस्तानको भन्दा बढी होस् । भारतले अबका तीन खेल ठूलो अन्तरले जितेको अवस्थामा र अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएको अवस्थामा भारतले रन रेटमा न्यूजिल्याण्डलाई त उछिन्न सक्ला तर अफगानिस्तानलाई उछिन्न निकै कठिन छ ।

अफगानिस्तानको नेट रनरेट समूहका ६ टिममध्ये सबैभन्दा बढी ३.०९७ छ । भारतको नेट रनरेट समूहमै दोस्रो सबैभन्दा कम माइनस १.६०९ छ । न्यूजिल्याण्डको नेट रनरेट प्लस ०.७६५ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology