भागरथी हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेविसंघको माग : गृहमन्त्री थापाले भने, ‘प्रहरी करिबकरिब दोषीको नजिक पुगिसक्यो’

NAWALPUR TIMES

काठमाडौं : नेपाल विद्यार्थी संघको टोलीले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरी भागरथी भट्टको हत्या घटनामा संलग्नलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्। मंगलवार बिहान पुल्चोकस्थित मन्त्रीक्वारटर पुगेर नेविसंघका अध्यक्ष राजीव ढुंगानाको टोलीले गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेको हो।
नेविसंघका पदाधिकारीसमेतको उपस्थितिमा बुझाइएको पत्रमा बलात्कार गरी हत्या गरेको घटनामा संलग्नलाई तत्कार गिरफ्तार गरी हदैसम्मको कार्वाही गर्न माग गरेको छ।
गृहमन्त्री थापाले पत्र बुझ्दै राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेको जनाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए। विगतका निर्मला पन्तको घटना झैं कठिन नभएको र करिब दोषीको नजिक पुगेको गृहमन्त्रीको भनाई थियो। थापाले सरकारको ध्यानाकर्षणका निम्ति धन्यवाद दिँदै युवा, विद्यार्थी नागरिक समाज सबैको सहयोगको अपेक्षा सरकारले गरेकोसमेत बताएका थिए।
कक्षा १२ मा अध्यानरत भागरथीको बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा बुधवार शव फेला परेको थियो। शनिवार जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टले भागरधीको बलात्कारपछि हत्या भएको देखिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology