बेलायत सरकारको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’ बाट हट्यो नेपाल

NAWALPUR TIMES

बेलायत सरकारको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’ बाट हट्यो नेपाल
travel insurance uk tower bridge

कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले  बेलायत आउँदा  ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत आउँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा  ११ रात  तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ तीन लाख ७४ हजार जति हुन आउँछ ।

आउँदो सोमबारबाट नेपालबाट बेलायत आउनेले अनिवार्य होटल क्वारेन्टाइनबाट मुक्ति पाउनेछन् । हिन्दूहरुको महान चाड दशैको पहिली दिन घटस्थापनाका दिन भएको बेलायत सरकारको निर्णयलाई नेपालीहरुले स्वागत गरेका छन् । तर, दसैँ आउन एक हप्ता भन्दा पनि कम समय रहेको हुँदा महँगो  हवाई टिकटको मारमा पर्नुपर्ने यात्रुहरुको पीडा आफ्नै ठाउँमा छ । सामान्य अवस्थामा पनि दसैँको बेला हवाई टिकट महँगो हुने परम्परा रहेपनि छोटो समयमा भएको यो निर्णयले महँगो भाडा तिरेर पनि नेपाल जान कठिन हुने देखिन्छ ।

कोरोना महामारी र लकडाउनका कारण गतवर्ष पनि नेपाल जान नपाएका बेलायतवासी नेपालीलाई दसैँको मुखमा गरिएको यो निर्णयले ठूलो राहत मिलेको छ । नेपाललाई रेड्लिष्टबाट हटाउनको लागि नेपाली दूतावासलगायत बेलायतका विभिन्न संघसंस्थाहरूले आवाज उठाउँदै आएका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology