बिहेको सिजनमा तस्करीको सुनको कारोबार बढ्यो, मूल्य प्रतितोला ६ हजारसम्म बढी

NAWALPUR TIMES

वैधानिक माध्यमबाट आउने सुनले बजारको माग धान्न नसक्ने भएपछि व्यापारी आफै अवैध बजारबाट सुन खरिद गर्न लागेका छन् । उपभोक्ताको माग धान्नको लागि औपचारिक माध्यमको सुनले नपुगेपछि व्यापारीले अनौपचारिक बजारबाट महँगोमा सुन किनेर विक्री गर्ने गरेका हुन् ।

माग अनुसारको परिमाणमा आपूर्ति नहुँदा व्यापारीहरू अनौपचारिक बजारबाट सुन खरिद गर्न बाध्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । उपभोक्ताले महँगो दरमा भए पनि सुन किन्न तयार हुने तर औपचारिक बजारमा सुन उपलब्ध नहुँदा अनौपचारिक बजार बढेको उनको भनाई छ ।

‘खास गरी विवाहको सिजन सुरु भएपछि सुनको माग असाध्यै धेरै हुने गर्छ, गहना बनाउनको लागि सुन नभइ हुँदैन, उपभोक्ताले जसरी भए पनि सुन चाहियो भन्नुहुन्छ, बजारमा सुन छैन, केही हजार बढी मूल्य तिर्‍यो भने अनौपचारिक बजारमा सहजै सुन पाइन्छ, यसै कारण व्यापारीलाई अनौपचारिक बजारको सुन किन्नुपर्ने बाध्यता छ,’ पूर्व अध्यक्ष शाक्यले  भने ।
व्यापारीहरूले अनौपचारिक बजारबाट खरिद गर्ने भनेको तस्करीबाट आएको सुन हो । भन्सार नाका छलेर अनौपचारिक रूपमा आएको सुनमा प्रतितोला ६ हजार रुपैयाँसम्म तिर्नु परेको व्यापारीहरूले बताएका शाक्यले जानकारी दिए ।

‘हाम्रो सदस्य साथीहरूले पनि अनौपचारिक बजारबाट महँगोमा सुन किनेको सुनाउनु हुन्छ, उहाँहरूले प्रतितोला ६ हजार रुपैयाँसम्म बढी तिर्ने र आफूलाई १ देखि साढे १ हजार रुपैयाँसम्म नाफा राखेर तोकिएकोभन्दा प्रतितोला साढे ७ हजार रुपैयाँ बढीमा कारोबार हुने गरेको रहेछ,’ पूर्व अध्यक्ष शाक्यले थपे ।

 

कहाँबाट आउँछ सुन ?

 

नेपालमा अहिले दैनिक १० किलोग्राम (केजी) मात्रै सुन आयात गर्न पाइने नीतिगत व्यवस्था छ । विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै नेपाल राष्ट्र बैंकले २०७८ फागुन २२ गते एक निर्देशन जारी गर्दै दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था गरेको छ । सोभन्दा अघि दैनिक २० केजी सुन आयात गर्न पाइने व्यवस्था थियो । नेपालमा वैधानिक माध्यमबाट सुन आयात हुने प्रमुख स्रोत यो नै हो ।

यस्तै, विदेश गएका व्यक्तिले आफ्नो प्रयोजनको लागि ५० ग्रामसम्मको सुनको गहना ल्याउन पाउँछन् । यस्तै, भन्सार तिरेर ५० ग्रामसम्म सुन ल्याउन पाइन्छ । एक तोलामा ११.६६ ग्राम सुन हुन्छ । यसरी विदेशबाट आएको सुन पनि पुन गहना बनाउने वा रकम आवश्यक परेकोले विक्री मार्फत पुन सुन व्यापारीकोमा पुग्छ ।

पहिला गहना बनाएका उपभोक्ताले पनि नयाँ गहना बनाउन वा रकमको अभाव भएर सुन व्यापारीलाई विक्री गर्ने गरेका छन् । यसरी पनि बजारमा सुन आउने आएको व्यापारीहरूको भनाई छ ।

 

यस्तै, सुन आपूर्तिको अर्को माध्यम तस्करीको सुन पनि भएको छ । अनौपचारिक रूपमा आयात भएको वा तस्करीको सुन केही महँगो दरमा किनेर पुन ग्राहकलाई विक्री गर्ने गरिएको व्यापारीहरूको भनाई छ ।

 

कति छ माग ?

 

बजारमा सुनको माग कुनै समय बढी हुने र कुनै समय कम हुने गरेको छ । व्यापारीहरू औसतमा दैनिक ३५ केजीदेखि दैनिक ४० केजीसम्मको माग हुने गरेको बताउँछन् । तर, नेपाल राष्ट्र बैंकले भने दैनिक १० केजी मात्रै आयात गर्न दिने नीतिगत व्यवस्था गरेको छ ।

 

कसरी तोकिन्छ सुनको मूल्य ?

 

व्यापारीहरूले अनौपचारिक बजारबाट महँगोमा किनेर उपभोक्तालाई पनि महँगो दरमा नै रकममा नै बिक्री गर्ने गरेको खुलेको छ । व्यापारीले उपभोक्तालाई पनि औपचारिक बजारमा कायम भएको दरको विल काट्ने र बढी मूल्य भने विलमा उल्लेख नगर्ने गरेका छन् । जस्तो कि आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ छ भने विलमा सोही रकम उल्लेख गर्ने तर, ६ हजार रुपैयाँसम्म बेग्लै थप रकम माग्ने गरेका छन् ।

नेपालमा सुनको मूल्य भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने गरेको छ । महांसघले २०४२ सालदेखि नै सुनको मूल्य तोक्दै आएको हो । महासंघले बेग्लै एउटा कमिटी बनाएर अन्तर्राष्ट्रिय बजारमा चलेको सुनको मूल्य र नेपालमा कायम भएको अमेरिकी डलरको विनिमय दरका आधारमा सुनको मूल्य दैनिक रूपमा तोक्ने गरेको छ ।

 

‘बिहान १० देखि सवा १० बजेसम्ममा अन्तर्राष्ट्रिय बजारबाट सुनको मूल्य लिन्छौँ, त्यसमा नेपाल राष्ट्र बैंकको अमेरिकी डलरको विनिमय दर समायोजन गरिन्छ, सुन आयातमा लागेको ढुवानी भाडा, बीमा शुल्क, सुन आयात गर्ने बैंकलाई ०.५ प्रतिशत नाफा र बैंकबाट सुन खरिद गर्ने व्यापारीलाई ०.५ प्रतिशत नाफा राखेर सुनको मूल्य कायम गरिन्छ,’ सुनको मूल्य निर्धारण गर्ने समितिका सदस्य समेत रहेका शाक्यले भने ।

उनका अनुसार नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा १ प्रतिशतभन्दा बढी महँगो हुन्छ । महँगो हुनुको कारण ढुवानी भाडा, बीमा शुल्क र आयात गर्ने बैंकलाई ०.५ प्रतिशत नाफा र सुन खरिद गर्ने व्यापारीलाई ०.५ प्रतिशत नाफा राख्दा हो ।

सुन खरिद गर्ने व्यापारीलाई ०.५ प्रतिशत नाफा राखे पनि यो नाफा सुन बिक्रेताले भने पाउँदैनन् । यो रकम नेपाल सुनचाँदी व्यवसायी महासंघ र अन्य यस्तै संघ संस्थाहरूले लिने गरेका छन् ।

‘सुन व्यापारीले एक रुपैयाँ पनि नाफा खाएका हुँदैनन्, उनीहरूले कमाउने भनेको गहना बनाउँदाको ज्याला र जर्तीबाट मात्रै हो, ज्याला कति लिने र जर्ती कति प्रतिशतसम्म राख्न पाइने भन्ने नीतिगत व्यवस्था छैन, व्यवसायीलाई यसले समस्या पारेको छ,’ शाक्यले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology