बिपी स्मृति दिवसमा मुख्यमन्त्रीद्वारा श्रद्धासुमन व्यक्त

NAWALPUR TIMES

बिपी स्मृति दिवसमा मुख्यमन्त्रीद्वारा श्रद्धासुमन व्यक्त
received 347805123587984

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपी कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायावाची शक्तिको रुपमा रहेको बताएका छन् ।
बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले बिपीको बिचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रबिन्दुु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’
नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गरेका बिपी कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल छ । जहानीय राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारधारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उनले गरेको योगदानको जति नै प्रशंसा गरे पनि नपुग्ने मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपीका सिद्धान्त र आदर्श जहिल्यै पनि मुल मन्त्रका रुपमा स्थापित भएका छन् । भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ ।’
मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दुरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको उनले जनाएका छन् । सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रबिन्दुमा राखे । पोखरेलले उल्लेख गरेका छन्, ‘राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने उहाँको धारणा थियो ।’
नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हँुदा राजनीतिको मुल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण थियो । मुलुकले अहिले पनि उनले देखाएको बाटोलाई नै अनुशरण गर्दै आएको पोखरेलले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘बिपी कोइरालाले अगाडि सार्नुभएका प्रजातान्त्रिक सिद्धान्त र विचारलाई अवलम्बन गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन सके मात्र उहाँप्रतिको सम्मान हुनेछ भन्ने मलाई लागेको छ ।’
प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा मुलुक र नागरिकका समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अंगीकार गर्न र उनले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गरौं र समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन उनले आग्रह गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology