बालविवाह आँफैमा दुर्भाग्यपुर्ण : वडा अध्यक्ष सारु

NAWALPUR TIMES

बालविवाह आँफैमा दुर्भाग्यपुर्ण : वडा अध्यक्ष सारु
received 288277462269704

होमनाथ पौडेल, २१ श्रावण, देवचुली ।

देवचुली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मेखबहादुर थापा सारु मगरले बालविवाह आँफैमा दुर्भाग्य भएको बताउनुभएको छ।

आज वडा नम्बर ९को वडा कार्यालयमा आर्थिक रुपमा विपन्न तथा आमा गुमाएका शिशुको पोषणको लागि आर्थिक सहयोग रकम उपलब्ध गराउँदै गर्दा उहाँले सो कुरा वताउनुभएको हो।

किशोर अवस्थामा विवाह गरि मृत्यु भएकी आमाको सन्तानलाई वडाले सुनौलो हजार दिनका आमाहरुलाई पोषण कार्यक्रम अन्तर्गत उक्त नवजात शिशुको भरणपोषणका लागी आर्थिक सहयोगस्वरुप १२ हजार रुपैयाँ उपलब्ध गराएको छ।


गत फाल्गुन महिनामा देवचुली नगरपालिका ९ मा १५ वर्षिय किशोरी र १६ वर्षिय किशोरले प्रेम सम्बन्धलाई सानै उमेरमा विवाहमा परिणत गरेका थिए। गर्भमा बच्चा रहेकी ती किशोरीले गत बैशाख १६ गते छोरिलाई जन्म दिइन्।

सन्तान जन्मिएपश्चात किशोरीको शरिरमा विभिन्न प्रकारका समस्याहरु देखिन थाले। टाउको दुख्ने, निमोनिया हुने तथा सुत्केरी पश्चात रक्तस्रावहुने समस्या देखिँदै गयो । अन्तत: शिशु जन्मिएको एक महिना पछि गत जेठ २२ गते उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा ती सुत्केरी किशोरीको मृत्यु भएको थियो।


“किशोर किशोरी सुनौलो भविष्य निर्माण गर्ने समयमा अनावश्यक प्रेम सम्बन्धमा रहनु दु:खद हो। यसले जीवन नै बर्बाद बनाएको उदाहरण हामीले देख्यौँ। यसतर्फ किशोर किशोरी र अभिभावक समेत सचेत रहन आवश्यक छ।” अध्यक्ष सारुले भन्नुभयो,”वालविवाह आँफैमा दुर्भाग्य हो। सबै किशोर किशोरी यसबाट जोगिऔँ।”


वडाले आथिक वर्ष २०७६/०७७ को सुनौलो हजार दिनका आमाहरुलाई पोषण अन्तर्गतको रकम मध्य १२ हजार रुपैयाँ उक्त शिशुको भरणपोषणको लागी परिवारलाई र वडाभित्रका जन्मिएपश्चात आमा गुमाएका अन्य २ जना जुम्ल्याहा वालकलाई समेत ४/४ हजारको दरले आर्थिक सहयोग उपलब्ध गराएको वडाध्यक्ष सारुले जानकारी दिनुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology