बाघले भरियो खोर, विकल्प खोज्न आग्रह

NAWALPUR TIMES

बाघले भरियो खोर, विकल्प खोज्न आग्रह
Tiger at Banke3 20220302134632

भरतपुर : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन्। हाल: कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन्। तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो। दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो।

निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ। निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्नेगरी एउटा खोर बन्दै छ। झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले जानकारी दिए। कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो।

कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ। हालः सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ। आचार्यले भने, ‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन। भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन।’ यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उनले जानकारी दिए।

चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ। जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो। दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो।

उनका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो। तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ। बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो।

बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ। सन् २०१८ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए। त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो। यस वर्ष बाघ गणना भइसकेको छ। विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology