बाख्रा फार्म अवलोकन गर्न कतारी राजदूत पूर्वी नवलपरासीमा

NAWALPUR TIMES

नारायण शर्मा/पूर्वी नवलपरासी — नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैलले शुक्रबार पूर्वी नवलपरासीस्थित दुई वटा निजी बाख्रा फार्म अवलोकन गरेका छन् । शुक्रबार दिउँसो कावासोती नगरपालिका वडा नम्बर १७ बभनौली आएका राजदूत यूसुफ बिनले आदित्य कृषि फार्म र केशर एग्रो फार्म अवलोकन गरेका हुन् ।

राजदूतले कतारमा केही वर्ष काम गरेर फर्किएका नवलपरासीका किरण काफ्लेले सुरु गरेको बाख्रा फार्म सुरुमा अवलोकन गरेका थिए। यहाँ काफ्लेले बयर र खरी जातका बाख्रा पालन गरेका छन् ।

काफ्लेले ४ वर्षदेखि यहाँ बाख्रा पालन गर्दैआएका छन् । अवलोकन भ्रमणको क्रममा राजदूतले बाख्रा फार्मप्रति चासो राख्दै संचालक किरणसँग सोधेका थिए, ‘कतारमा र यहाँ के फरक पायौ ?, कस्तो छ प्रगति ?’

 

राजदूतले नजिकै रहेको नेपालकै ठूलो मानिने केशर एग्रो फार्म पनि अवलोकन गरेका थिए । त्यहाँ उन्नत जातका करिब ४ सय बाख्रा पालन गरिएको छ । राजदूतको बाख्रा फार्म अवलोकनलाई निजी भ्रमण भनिएको छ । यद्यपि उनी शुक्रबार अचानक कार्यालयको सवारी साधनबाटै नवलपरासी आइपुगेका हुन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार उनले दूतावासकै ‘झण्डावाल गाडी’ प्रयोग गरेर बाख्रा फार्मसम्म पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दीलिप गिरीका अनुसार राजदूतले दुई वटा बाख्रा फर्म अवलोकन गरेर काठमाडौं फर्किएका छन् ।उनी निजी भ्रमणको रुपमा काठमाडौंबाटै बाख्रा फार्म अवलोकन गर्नका लागि नवलपरासीसम्म आइपुगेको बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology