बहुलताबीचको सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य:राष्ट्रपति भण्डारी

NAWALPUR TIMES

बहुलताबीचको सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य:राष्ट्रपति भण्डारी
Bidya bhandary fainal 1604821057

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुलताबीचको सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य भएको बताएकी छिन्। उनले यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चित रहेको बताइन्।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको बताइन्।

विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार पारेको राष्ट्रपति भण्डारीको विश्वास छ।

‘पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो। नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उहाँले अनुसरण गर्नुभयो।’, शुभकामना सन्देशमा भनिएको छ।

भण्डारीले देश विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै  नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको बताइन्।

‘नेपालको भू–अवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देशहरू दिएर जानुभएको छ । उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्न आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्साएका छन्।’, राष्ट्रपति भण्डारीद्वारी जारी गरिएको सन्देशमा उल्लेख छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology