सन्जय भट्टराई, कावासोती । रामायणको कथा अनुसार त्रेता युगमा माता सितालाई रावणले हरण गरेर लैजाने क्रममा रावणद्वारा जटायुको पखेटा काटिएको पौराणिक तथ्य सँगै जोडिएको धार्मिक महत्त्व मात्रै होइन पर्यावरणीय चक्र, जैविक विविधता र मानव जातिलाई स्वस्थ राख्नका गिद्ध प्रकृतिको अभिन्न अंगको रुपमा रहदै आएको छ ।
हिंस्रक र फोहोरी चराको रुपमा चित्रण गरिदैँ आईएको भए पनि गिद्ध आफैमा हिंस्रक र फोहोरी चरा भने होइन । न यसले आफै सिकार गर्छ न त पर्यावरणलाई यसले फोहोर बनाउछ, मरेका जनावरको सिनो खाने यो चरा प्रजाती पर्यावरणमा पाईने सिनोलाई आफ्नो आहारा बनाएर यस्ले पर्यावरणको सफाइ मात्रै गर्दै आएको छैन, पर्यावरणीय चक्रमा आश्रति अन्य प्राणीको लागि सहयोगी भुमिका समेत निर्वाहा गर्दै आएको छ ।

गिद्धले मरेका सडेगलेका सिनो खाँदा पर्यावरणको सफाइ सँगै सँगै ती सिनोबाट निस्कने दुर्गन्धित र विषाक्त ग्याँस समेत कम हुने हुँदा कार्बन उत्सर्जन कम गर्नमा समेत मद्दत गर्ने गरेको पछिल्लो अध्ययनहरुले देखाएको छ । त्यति मात्रै होइन गिद्धले वन भित्रका सिनो खाएर त्यहाँ रहेका अन्य वन्यजन्तुलाई समेत सिनोबाट फैलिन सक्ने रोग लाग्न बाट बचाउने गरेको चरा डा. हेमसागर बरालले बताए ।
विषेश गरेर निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्रका वनमा रहेका मांशहारी प्राणी जसको आहार सिनो नभए पनि सिकार गर्न नसक्दा वा आहारा नपाउदा सिनो खाने अवस्था आउन सक्ने र ती सिनो खाँदा वन्यजन्तु बिरामी भएर मृत्यु सम्म हुन सक्ने जोखिम हुने र गिद्धले ती दुर्गन्धित सिनो खाईदिएर वन्यजन्तुलाई जोगाउने गरेको डा.बरालले बताए । उनका अनुसार मांसहारी जिवले सिकार गरेर केही प्रतिशत मात्रै खाएर छोडने गरेको र त्यो सिनो बन्ने हुन्छ, त्यही सिनो र सडेगलेको कंकाल खाईदिएर गिद्धले प्रकृतिको सफाई गरेको छ ।
वन क्षेत्र बाहिरको सिनो खाएर गिद्धले मानिसलाई समेत विभिन्न संक्रामक रोगहरु लाग्न बाट बचाउने गरेको छ । पर्यावरणमा गिद्धको संख्या कम हुँदा ती सिनोहरु स्याल, कुकुर लगाएतका जनावरले खाने र तिनिहरुबाट मानिसमा हैजा, झाडापखाला, आउँ, रेविज जस्ता संक्रामक रोग सर्ने जोखिम रहन्छ । गिद्धले ती सिनो खाएर मानिसलाई समेत विभिन्न संक्रामक रोगबाट बचाएको छ ।
गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले विभिन्न हानिकारक कीटाणु भएको सडेगलेको मासु पनि सहजै पचाउने गर्दछ । एउटा व्यस्क गिद्धले तीन दिनमा औसत एक किलो सम्म सिनो खाने र सिनोको खोजीमा एक पटकमा ३ सय किलोमीटर सम्म यात्रा गर्ने गर्दछ । गिद्धले मानव लगाएत सिङ्गो पर्यावरणलाई सिनोबाट फैलन सक्ने रोगको जोखिमलाई कम गरेर चिकित्सकिय भुमिका समेत निर्वाहा गर्ने गरेको विज्ञहरु बताउछन ।

सन १९८० को दशकमा १६ देखि २० लाख हाराहारीमा नेपालमा गिद्ध रहेको भए पनि नब्बेको दशकमा गिद्धको संख्या ठूलो गिरावट आएको थियो । पशुको उपचारमा प्रयोग गरिने डाईक्लोफेनेक औषधिका कारण यो अवधी नेपाल सहित दक्षिण एसियाली मुलुकमा ९१ प्रतिशतले गिद्धको संख्यामा गिरावट आएको थियो ।
पछिल्लो समय संरक्षण र चेतनाको प्रभाव, सरकारी तथा गैरसरकारी क्षेत्रबाट थालेको संरक्षण प्रयासले गिद्धको संख्या बढदै गए पछि संरक्षणकर्मीहरु समेत उत्साहित हुँदै गएका छ्न ।नेपालमा ०६३ जेठ २३ देखि प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लागेपछि गिद्धको संरक्षणमा ठूलो सहयोग पुगेको जटायु रेष्टुरेन्टका अध्यक्ष एवं चराविद डिबि चौधरीले बताए ।
संरक्षणकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रबाट थालेको प्रयास र गिद्ध प्रति आम सर्वसाधारणमा सकारात्मक सोच बढदै जाँदा नेपालमा अहिले २० हजारको हाराहारीमा गिद्धको संख्या पुगेको चौधरीले बताए । पशुहरुलाई पेनकिलरको रुपमा दिईने डाईक्लोफेनेक औषधिको प्रतिबन्ध भए पनि अन्य त्यस्तै प्रकृतिका विषाक्त औषधिको खुल्ला बिक्रीवितरण र सुरक्षित आहारको व्यवस्था र बासस्थान संरक्षणका काम प्रभावकारी नहुदाँ गिद्ध संरक्षणमा चुनौती भने रहेको चौधरीले बताए ।
नेपालमा अहिले डङ्गर, सेतो, सुन, सानो खैरो,राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध लामो ठोडे गिद्ध र हाडफोर गिद्ध गरेर नौ प्रकारका गिद्ध पाईन्छ । यी मध्ये डंगर, सानो खैरो, सुन र लामो ठुडे गिद्धलाई आईयुसीएनले अति संकटापन्न सूचीमा राखेको छ भने सेतो गिद्ध संकटापन्न, हिमाली, राज र हाडफोर गिद्ध संकटको नजिकमा रहेका छ्न ।
प्रकाशित : २०८१ भदौ २९ गते १४:३१
Facebook Comment