बल्छी र जालमा फसेर डल्फिन मर्न थाले

NAWALPUR TIMES

बल्छी र जालमा फसेर डल्फिन मर्न थाले
dolphin V0c2ByLGQm

काठमाडाैं। मानिसपछिको सबैभन्दा बढी चेतनशील र चलाख प्राणी मानिएको डल्फिन मानिसबाटै बढी जोखिममा पर्न थालेको छ । मानिसले थापेको बल्छी र जालमा फसेर डल्फिन मर्न थालेपछि नेपालमा यसको अस्तित्व झन् सङ्कटमा परेको छ ।

नेपालमा कोसी, नारायणी तथा कर्णाली र यसका सहायक नदीमा डल्फिन पाइने गरेको छ । कोसी तथा नारायणीमा सहजै देख्न नसकिने भए पनि कर्णालीका सहायक नदीहरूमा बर्खाका बेला डल्फिन सहजै देख्न सकिन्छ ।

पहिलो पटक २०५८ सालमा कर्णाली नदी र यसका सहायक नदीमा डल्फिन पाइने कुरा प्रमाणित गरिएको थियो । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले हाल बर्खाका बेला यी नदीमा १२० वटासम्म डल्फिन देख्न सकिने बताए।

डाइनोसरको युगदेखि हालसम्म पृथ्वीमा अस्तित्वमा रहेको यो जीवलाई नेपाल सरकारले संरक्षित प्राणी घोषणा गरेको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (साइटिस)ले यसको व्यापार कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले अति सङ्कटापन्न जीवका रूपमा सूचीकृत गरेको छ ।

बर्खामा डल्फिनले बच्चा हुर्काउने गर्छ । यो बेला कर्णाली नदीमा ठूलो बाढी आउने भएकाले बच्चा हुर्काउन वयस्क डल्फिनहरू मोहना, पथरैया, कान्द्रा नदीमा विचरण गर्ने तथा आहार खोज्ने गर्छन् । यही बेला स्थानीय तहबाट मोहना, पथरैया तथा कान्द्रा नदीलाई माछा मार्नका लागि ठेक्कामा लगाउने गरिँदा ठेकेदारको लापरबाहीले डल्फिन जाल तथा बल्छीमा परेर मर्ने गरेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology