बलात्कारको आरोप लगाउँदै रकम असुल्ने धन्दा चलाउने दुई जना महिला पक्राउ

NAWALPUR TIMES

बलात्कारको आरोप लगाउँदै रकम असुल्ने धन्दा चलाउने दुई जना महिला पक्राउ
1616076860394

काठमाडौं। हनी ट्र्यापमा फसाई रकम असुल गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० घर भई काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गरी आईएमई मार्फत् लाखौं रुपैयाँ लिएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिइसकेको अनुसन्धानबाट खुल्न आएको छ।

लालसरी २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन्।

लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनी विरुद्ध २०७७ असोज ६ गते जबरजस्ती करणी मुद्दामा दिएको जाहेरी झुठ्ठा ठहरीएकोले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology