बर्दघाट र सुस्ता दुबै पालिका गण्डकी प्रदेशमा पर्छ : मुख्यमन्त्री अधिकारी

NAWALPUR TIMES

बर्दघाट र सुस्ता दुबै पालिका गण्डकी प्रदेशमा पर्छ : मुख्यमन्त्री अधिकारी
received 773200481087869

 

सालिकराम कोइराला
२८ चैत, कावासोती

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लुम्बिनी प्रदेश अन्तरगत रहेका बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिका दुबै नेपालको संविधान अनुसार गण्डकी प्रदेशमै पर्ने रहस्योद्घाटन गरेका छन्। मन्त्री अधिकारीले सोमबार कावासोतीमा आयोजित एमालेको मिसन ग्रासरूट अभियानको सभामा यस्तो रहस्य खुलासा गरेका हुन्।

नेपालको संविधानको अनुसूचीमै किटानीका साथ गण्डकी प्रदेशको जिल्ला अन्तरगत ‘नवलपरासी बर्दघाट सुस्ता पूर्व’ भनेर प्रष्ट रूपमा लेखिएको छ। त्यो कसरी लुम्बिनी प्रदेशमा पर्यो ? उनले प्रतिप्रश्न गरे, ‘बर्दघाट सुस्ता पूर्व भनेपछि ति पालिका कसरी लम्बिनी प्रदेशमा परे त ?’ आफुले यसको कानुनी उपचार खोज्ने मुख्य मन्त्री अधिकारीले उद्वघोष गरे।

मुख्यमन्त्री अधिकारीले भने, म हिजो त्रिबेणी गएर आज फर्किएको हुँ। गण्डकी प्रदेशको लाइफ लाइन भनिएको ‘त्रिबेणी कोराला सडक’ अब छिट्टै बन्छ। उक्त सडकको दुम्किबास-त्रिबेणी खण्डमा चितवन राष्ट्रिय निकुञ्जले छुने ७ किलो मिटर बाटोको काम तत्काल अघि बढाउन प्रकृया पुरा गरि निर्देशन समेत दिइसकेको छु, उनले थपे।

एक अर्को प्रसंगमा मुख्य मन्त्री अधिकारीले लुम्बिनी प्रदेशमा सिंचाइ गर्न कालीगण्डकी डाइभर्सन गर्न खोजिएकोमा रोष प्रकट गरे। अधिकारीले भने कालीगण्डकी सभ्यता र सँस्कृति सखाप पार्न कुनै हालतमा कालीगण्डकी डाइभर्सन गर्न दिइने छैन। उनले कावासोतीमा बन्ने भनेको नमूना सदरमुकाम बारे भने कुनै धारणा राखेनन्।

नेकपा एमालेका उप महासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पथ्बी सुब्बा गुरूङले संगठन सुदृण गर्न पार्टीले ग्रासरूट अभियान संचालन गरेको जानकारी गराए। सभामा एमाले केन्द्रिय सदस्य तथा नवलपुर इञ्चार्ज तिलक महत लगाएत अभियानका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाको पनि उपस्थिति रहेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology