बडादशैंको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिदै

NAWALPUR TIMES

बडादशैंको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिदै
1602898072633

काठमाडौं, कार्तिक १। बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा सुनील सिटौलाले बताएका छन् । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

यो बर्ष ११ः४६ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिने भएको छ ।

सोही साइतमा हनुमान ढोका दरबारको दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गरिने भएको छ । दशैँ घरका मूल पुरोहित देवराज अर्यालले बिहानको ११ः४६ को साइतमा घटस्थापना गरिने बताए । विगत दुइ दर्शक लामो समय पुरोहितको काम गर्दै आएका अर्यालले यस बर्ष कोरोना भाईरसको जोखिम भएको कारण विधिपुर्वक मात्रै सामान्य पुजा गर्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology