फेसबुक, गुगल र ट्विटरले हङकङमा चिनियाँ प्रसासनलाई सहयोग नगर्ने घोषणा

NAWALPUR TIMES

फेसबुक, गुगल र ट्विटरले हङकङमा चिनियाँ प्रसासनलाई सहयोग नगर्ने घोषणा 2

काठमाडौं। फेसबुक, ह्वाट्सएप, ट्विटर, गुगल र टेलिग्राम सहितका एपले हङकङ प्रहरीलाई सहयोग नगर्ने घोषणा गरेका छन् । यसअघि यी सञ्जालहरुले प्रहरीको अनुरोधमा जुनसुकै किसिमको व्यक्तिगत वा अन्य सुचना र तथ्याङ्कहरु प्रहरीलाई दिने गर्थे।

हङकङमा ‘राष्ट्रिय सुरक्षा कानुन’ लागु गरेपछि थुप्रै देशहरुले चीनको आलोचना गरेका छन् । हङकङको स्वतन्त्रता खोसेर चीनले आफ्नो अधिनमा राख्न खाजेको आरोप समेत लागेको छ।

यी बाहेकका एपलाई पनि यस्तो कार्य रोक्नका लागि दबाब आइरहेको जनाइएको छ । अन्य सामाजिक सञ्जाल एपहरुले चीनमा सेवा दिन समेत बन्द गरिसकेका छन्, तर एप्पलले भने कायम राखेको छ।  त्यस्तै माइक्रोसफ्टले पनि हङकङले भने अनुसार कामहरु अघि बढाउने भन्दै आएको छ। सबैभन्दा पहिले टेलिग्रामले यस्तो घोषणा गरेको थियो । ‘हङकङका प्रयोगकर्ताको गोपनियताको सुरक्षाका कारण अहिलेको राजनीतिक स्थितीमा सुधार नभएसम्म कुनै पनि जानकारी एवं सुचना दिनेछैनौं’ कम्पनीले भनेको छ ।

फेसबुकले पनि हङकङमा कुनै पनि प्रयोगकर्ताको डाटा संकलन नगरिने र कसैलाई नदिइने घोषणा गरेको छ। त्यस्तै ह्वाट्सएपले पनि आफुले कुनै पनि प्रयोगकर्ताको जानकारी सुरक्षाका कारण नदिने बताएको छ । गुगलले समेत तथ्यांक संकलन र माग सम्बन्धी गतिविधी अब हङकङका लागि नगरिने बताएको छ ।

चीनमा यी कम्पनीहरुका सेवाहरु बन्द भएपनि स्वतन्त्र मानिएका कारण हङकङमा कम्पनीहरुको राम्रो व्यापार रहेको छ। सन् १९९७ अघि हङकङ बेलायतको अधिनमा थियो। ५० वर्ष कुनै पनि नीतिहरु परिवर्तन नगर्ने सम्झौताका आधारमा चीनलाई सन् १९९७ मा हस्तान्तरण गरिएको थियो। यद्यपि चीनले अहिले उक्त नीतिलाई उल्लंघन गर्दै हङकङमाथि राष्ट्रिय सुरक्षा नीतिको नाम दिएर आफ्नो कानुन लागु गरेको छ । यसको विश्वव्यापी रुपमा निन्दा भइरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology