फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला

NAWALPUR TIMES

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला
jharana

सालिकराम कोइराला

नवलपुर (हुप्सेकोट) ।  वरिपरि शुन्दर हरियाली। बिचमा खोंच र कलकल बगेको झरना। वन पाखामा चरा चुरूङ्गीको चिरबिर चिरबिर। तल समथर फाँट र माथी महाभारत पहाडको श्रृङ्खला। बारीमा कोदो र जुनेलो । कान्लामा बेसार र आलिमा भटमास। झरना नजिकै सानो फुर्के फाँट। त्यहि फाँटमा कौरा नाचेर औधि रमाइलो गर्दै थिए मगरनी ठिटी पर्यटकका माझ।

संसारभर ४३औं विश्व पर्यटन दिवस मनाईरहँदा हुप्सेकोट ४ झरना खोलामा पनि उधुम रमाइलो थियो।  “हाहा ‍‍…..बाटोमा घाटो चण्डि माटो, यसै गाउँको देउ देउता : रक्षमा गर चण्डी भुयार ” । भन्दै सलल बगेर नाचेका मगरनी ठिटीहरूको नाच कम्ता मजाको थिएन। प्रकृति पुजक मगर समुदायले गाउँमा शुख सन्तोष र पर्यटकलाई बिखत नहोस् भनि गीतबाटै कामना गरेका थिए।

नवलपुरको सदरमुकाम कावासोतीबाट उत्तर झण्डै ८ किलोमिटरको दुरिमा रहेको छ हुप्सेकोटको झरना खोला गाउँ। त्यसको थोरै तल मनै लोभ्याउने शँखदेव र दक्षिण पश्चिममा पुरानो झाँते भन्ने गाउँ गजधम्म परेर बसेको छ । झरना खोला हाम्रो गहना हो यसैले हामीलाई पहिचान दिएको छ स्थानीय सागर गाहा मगरले भने । उनि झरना खोला होमस्टेका अध्यक्ष हुन् । यहाँबाट पूर्वमा कावासोतीको हात्तीखोर पर्यटकिय गाउँ पर्दछ।

केहि समय अघि यहाँ बनेको चारवटा होमस्टे हाल संचालनमा ल्याईएको छ। दुई दर्जन पर्यटकलाई राख्न सक्ने क्षमता भएको होमस्टे मंगलबार प्रेम शंकर मर्दनियाँले समुद्वघाटन गरे । उनि होमस्टे महासंघ नेपालका केन्द्रिय अध्यक्ष हुन् । यस्तो ठाउँमा होमस्टे उद्वघाटन गर्न पाउँदा आफु अत्यन्त हर्षित भएको उनले बताए । जैविक विविधतासँगै जातिगत विविधताले भरिपूर्ण यस्तो ठाउँको होमस्टेबाट गाउँको दिगो विकासमा टेवा पुग्ने कुरामा मर्दनियाँले जोड दिए ।

झरना खोलाको शुन्दरताले मोहित भएका लायन्स क्लब अफ नवलपुर सिटिका अध्यक्ष लायन विश्व नाथ काफ्लेले यो ठाउँमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोंच बनाए। परिणामस्वरूप मंगलबार ग्रामीण जनताको स्वास्थ्य परिक्षण, स्थानीय खानाको परिकार, संस्कृति झल्किने नाच गान सहित लायन्स भिलेजको पनि उद्वघाटनको चाँजो पाँजो मिलाए। लायन सिद्वार्थलाल चुकेले भिलेजको उद्वघाटन गर्दै भने झरना खोलाको विकासमा तपाईहरूसँगै लायन्स क्लब पनि सँगसँगै छ ।

विश्व पर्यटन दिवसको अवसरमा अन्यत्रको तुलनामा यहाँको कार्यक्रम बिछट्ट प्रकारको थियो। प्राकृतिक मनोरम वातावरण, अर्गानिक खाना, कौरा नाच, भेष भूषा सबैमा स्थानीयको मौलिकता झल्किन्थ्यो । यी सबै नियालेकि हुप्सेकोट गाउँपालिकाको अध्यक्ष लक्ष्मी पाण्डेले आगामी दिनमा झरना खोला पर्यटकिय गाउँको प्रबर्द्वनमा पालिकाले सघाउने बचनबद्वता प्रकट गरिन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology