फलाम उत्खनन तत्काल सुरु गर्न आग्रह गर्दै उद्योग मन्त्रीलाई फलाम मिश्रित ढुङगा उपहार

NAWALPUR TIMES

फलाम उत्खनन तत्काल सुरु गर्न आग्रह गर्दै उद्योग मन्त्रीलाई फलाम मिश्रित ढुङगा उपहार
20220825 173920 scaled

कावासोती । हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डले धौवादी फलाम खानीको उत्खननको काम चाडै सुरु गर्न आग्रह गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई फलाम खानीको फलाम मिश्रित ढुङ्गा उपहार प्रदान गरेकी छिन ।

फलाम खानीको अवलोकन गर्न बिहिबार पूर्वी नवलपरासी स्थित हुप्सेकोट गाउँपालिकाको धौवादी आएका मन्त्री बडुलाई स्वागत गर्दै अध्यक्ष पाण्डले उपहार स्वरुप फलाम खानीको फलाम मिश्रित ढुङ्गा प्रदान गरेकी हुन ।

पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न आईपुगेका मन्त्री बडुले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानिय बस्तीलाई असर नपर्ने गरि उत्खननको काम अगाडी बढाउने बताएका छन ।

मन्त्री बडुले यस पटकको अनुगमन औपचरिकतामा सिमित नहुने भन्दै भने “पटक पटक धेरै मन्त्रीहरुले अनुगमन गर्नु भयो अब हामी रिजल्ट दिने गरि आएका छौ, चाडैनै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ ।” बिहिबार धौवादी फलाम कम्पनी लिमिटेडका सिईओ जनकबहादुर चन्द सहितको टोली लिएर मन्त्री बडु फलाम खानी रहेको स्थलमा पुगेका हुन । मन्त्री बडुले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरि छलफल चले पनि टुङ्गोमा पुग्न बाँकी रहेको बताए । यसै बिच मन्त्री बडुले प्रशोधन उद्योग खोल्नका लागी उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको समेत निरीक्षण गरेका छन । लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ ।

अध्यक्ष पाण्डेले  उत्खनन पछिको प्रशोधनको काम पनि हुप्सेकोटमानै गरिनु पर्ने र फलामखानीको सन्चालक समितिमा गाउँपालिकाको प्रतिनिधित्व हुनु पर्ने बताईन । “उत्खनन मात्रै होइन प्रशोधन गर्ने उद्योग हुप्सेकोटमै बन्नु पर्छ”, उनले भनिन, “खानी सम्म पुग्ने पहुँच मार्ग पनि व्यवस्थित गर्ने तथा धौवादी फलाम कम्पनी लिमिटेडको मुख्य कार्यालय हुप्सेकोटमै राखिनु पर्ने र हुप्सेकोटका जनताले न्यायोचित शेयर रकम लगानी गर्न पाउनु पर्छ ।”

यस अघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करीब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको हो । खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप ५ करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकबहादुर चन्दले बताए ।

“आर्थिक वर्ष २०६७÷६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण शुरू गरिएको थियो, अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिक टन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ”, उनले भने ।
देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइ र १०० मीटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो । चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौवादीमा १० वर्ग किलोमीटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology