फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ

NAWALPUR TIMES

फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ
thumb 3

कावासोती । दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ । टोलीले हिजो बिहीबार साँझ चितवन कालिका नगरपालिका–२ का मिने साइँला भनिने ५६ वर्षका भीमबहादुर थापा क्षेत्रीलाई समाएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार २०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्ट नजिक पन्ना खोला आडमा खाग काटेको मृत गैंडा भेटिएको थियो । सो गैंडा मार्न भीमबहादुरसहित १७ जना संलग्न भएको अनुसन्धानमा खुलेको थियो । तर घटनापछि उनी फरार रहँदै आएका थिए ।

उनी विरूद्धको मुद्दा २०५७ साल माघ २५ मा फैसला भएको थियो । निकुञ्जले उनलाई १० वर्ष कैद र एक लाख रूपैयाँ जरिवना हुने सजाय सुनाएको थियो । तर भाग्दै विभिन्न ठाउँ लुक्दै बस्दै आएको भीमबहादुरलाई बिहीबार निकुञ्ज प्रशासन र निकुञ्जमा तैनाथ नेपाली सेनाको खड्गदल गणको संयुक्त टोलीले समाएको हो ।

उनलाई शुक्रबार भरतपुर कारागार चलान गरिसकेको सूचना अधिकारी तिवारीले बताए । गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार र ओसारपसार गरेमा १५ वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म सजाय हुने कानुनी व्यवस्था छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology