प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, २० सदस्यीय टोलीमा को-को छन् सहभागी ?

NAWALPUR TIMES

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, २० सदस्यीय टोलीमा को-को छन् सहभागी ?
ddd

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ । ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो ।


प्रधानमन्त्री  देउवा  कात्तिक  १२  गते  बिहान १० बजे कतार  एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र  मन्त्रालयले  दिएको छ ।   पाँचौं पटक  प्रधानमन्त्रीमा  नियुक्त  भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई समावेश गरिएको छ ।
प्रधानमन्त्री नेतृत्वको टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै जाँदै छन् ।
अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । सम्मेलनमा भाग लिएपछि उनी कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम तय भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology