प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश

NAWALPUR TIMES

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश
1601631117.bhalubang rajdhani

काठमाडौं। प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ।

 

प्रदेश सभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको तर्फबाट उक्त प्रस्ताव पेश गरेका हुन्।

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्न सहमत भएपछि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको हो।

 

प्रदेश–५ को नाम र राजधानीको विषयमा नेकपाको सचिवालय नेतृत्व तहमा सामान्य छलफल गरेर टुङ्ग्याइएको बताइएको छ।

 

यसअघि प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल राजधानी दाङलाई बनाउने बताउँदै आएका थिए भने नेकपाका महासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश–५को राजधानी बनाउनुपर्ने बताउँदै आएका थिए।

 

प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनको लागि प्रदेश प्रतिनिधि सभामा दुई तिहाई बहुमत आवश्यक पर्छ। नेकपाका सांसदहरू दाङ राजधानी र लुम्बिनी नाममा सहमत भएपछि प्रदेश सभामा दुई तिहाई बहुमत पुग्छ।

 

प्रदेश सरकारको उक्त प्रस्तावमा प्रदेश सभाको विपक्षी दलले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology