प्रतिस्पर्धा गराउने भनेर कुलमानको नियुक्ति रोकेको सरकारले शाक्यलाई सीधै नियुक्ति दियो

NAWALPUR TIMES

प्रतिस्पर्धा गराउने  भनेर कुलमानको  नियुक्ति रोकेको सरकारले शाक्यलाई सीधै नियुक्ति दियो
1612917088820

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भनेर कुलमान घिसिङलाई रोकेको सरकारले हितेन्द्रदेव शाक्यलाई भने सीधै नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी ओलीले ऊर्जा मन्त्रालयबाट प्रस्ताव मगाएर शाक्यलाई नियुक्ति दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको छ । यसअघि २७ कात्तिकदेखि उनी निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्ने भन्दै नियुक्ति रोकेका थिए ।

घिसिङ बिदा भएपछि प्राधिकरण निमित्त कार्यकारी निर्देशकको नेतृत्वमा थियो । करिब दुई महिना प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । तर, पछि शाक्यलाई नै कामको जिम्मेवारी दिइएको थियो ।

मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले ऊर्जा मन्त्रालयको सिफारिसमा शाक्यलाई नियुक्त गरिएको बताए । शाक्यले पनि नियुक्त गर्ने निर्णय भएको जानकारी पाए पनि आधिकारिक पत्र अझै प्राप्त नभएको बताए । ‘पत्र प्राप्त गरेपछि मात्र मिडियालाई प्रतिक्रिया दिन्छु,’ उनले भने ।-नयाँ पत्रीकाबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology