काठमाडौँ, २१ भदौ । किसान समक्ष समयमा मल नपुर्याउने २ ठेकेदार कम्पनीको सरकारले ५/५ करोड धरौटी जफत गरेको छ ।
ति दुवै कम्पनीलाई कालोसूचीमा राख्न कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ ।
आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।
संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई ठेक्का दिइएको थियो ।
शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।
शक्तिको दुरुपयोग गरेर ठेक्का हात पारेको आम गुनासो रहेको छ । त्यसैगरी अर्को होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् । स्रोतका अनुसार ति दुवै कम्पनीले समयमा मलको आपूर्ति गर्न नसकेपछि धरौटी जफत गरी कालोसूचीमा राख्ने तयारी गरिएको हो ।
मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष कृषि मन्त्रालयले निकालेको छ ।
मन्त्रालयले दुवै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको बताइएको छ ।
विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ ।
अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह (नगरपालिका/गाउँपालिका) मार्फत किसानसमक्ष पुर्याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको मन्त्रालयले जनाएको छ । ठेकेदारलाई कारवाही र सहकारीको सिन्डिकेट तोड्ने तयारी मन्त्रालयले गरेको छ ।
प्रकाशित : २०७७ भदौ २१ गते १३:४३
Facebook Comment