प्रकृतिमाथि विचरण

NAWALPUR TIMES

प्रकृतिमाथि विचरण
1628652490812

बलेवा । कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड ।

यही भीर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र कालीतिरमा अहिले मानव विचरण बढ्दो छ । लाग्थ्यो, भीर कहिलै कसैको रोजाइँ पर्दैन । पहिले घाँस दाउराका लागिसमेत नजिकपर्न नसकिने भीर अहिले साहसिक घुमघामको थलो बनेको छ । बाँदर दौडिन पनि नसक्ने भीरमा धमाधम संरचना बनेका छन् । तिनै संरचनाले आन्तरिक पर्यटक लोभ्याइरहेका छन् ।

‘द क्लिफ’ले एक वर्षयता बलेवा र कुश्मा जोडेर बनाइएको पुलमा साहसिक खेल बञ्जी गराइरहेको छ । संसारकै दोस्रो स्वीङ पनि यहीँ छ । बञ्जी र स्वीमिङ गर्न आउनेको भीड त थामिनसक्नु छदैछ । त्योभन्दा धेरै ‘द क्लिफ’ले बनाएका अन्य साहसिक संरचना छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको नेपानेमा २१ रोपनीमा क्लिफका संरचना फैलिएका छन् । लठ्ठे पिङ, ‘स्काइ चियर’ र कृतिम हत्केला, अत्यासलाग्दो भीरमाथि भ¥याङको सहयताले रुखमा चढ्ने खेल नेपानेमा देखिने संरचना हुन् ।

कालीगण्डकीको किनारदेखि झण्डै ४०० मिटर अग्लो पहाडमाथि बनेको लठ्ठे पिङ । मेसिनको सहायताले माथि तानेर हुत्याउँदा कालीगण्डकीको बहावमाथि पुगेजस्तै लाग्छ । त्यही पिङ खेल्न नेपाने पुग्नेहरुको ठूलो लर्को लाग्ने गरेको ‘द क्लिफ’का अध्यक्ष राजु कार्की बताउनुहुन्छ ।

यो पिङ खेल्नका लागि बालबालिकादेखि युवायुवतीको आकर्षण छ । पिङ खेलेको मात्रै रु १५० शुल्क लाग्छ । बञ्जीको क्षेत्रमा पुगेका जो कोही पिङ खेल्न इच्छुक छन् । गुलेलीले मट्याङ्ग्रा हुत्याएझैँ पिङमा मान्छे हुत्तिने गरेका छन् । सबै सुरक्षाका साधन प्रयोग भएकाले दुर्घटनाको जोखिम भने छैन ।

नेपानेको ढिकमा एउटा कुर्सी बनाइएको छ । विद्युतीय मोटरको सहायताले कुर्सीमा बसेपछि आकाशमा घुम्छ । ‘स्काइ चियर’ नाम दिइएको कुर्सीमा जोडी बसेर चिया खाजा खानेहरुको कमी छैन । युवादेखि वयस्क र वृद्धवृद्धासम्म स्काइ चियरमा बसेर चिसोतातो पिउनकै लागि त्यहाँ पुग्ने गरेको कार्की बताउनुहुन्छ ।

‘‘बञ्जिका लागि यहाँ आएको हो, पिङ पनि खेल्न मन लाग्यो, कस्तो डरलाग्दो तर निकै आनन्द आयो’’ चितवनको भरतपुरबाट बलेवा आएका विश्वास पोखरेलले भन्नुभयो, ‘‘यहाँ घुम्दा मज्जा आइरहेको छ, भोलिसम्म यहीँ बस्छौँ ।’’ यहाँ बनिरहेको हत्केलाको आकृतिमा पनि कालीगण्डकीको पानीमाथि बसेजस्तै गरी तस्बिर खिच्न सकिन्छ । क्लिफका मनोरञ्जनका साधन प्रयोग गर्दा आकाशमै पुगेको अनुभूति हुनेगरेको पोखरेलले बताउनुभयो ।
‘स्काई चियर’ ले बञ्जी क्षेत्रको थप सोभा बढाएको छ । ‘द क्लिफ’ले नेपाने नजिकै कालीगण्डकीले खोँच बनाउदा छोडेको पहाड र प्रकृतिको प्रयोग गरेर मानिसलाई विचरण गराइरहेको छ । बञ्जी, स्वीङ गर्न आउनेका लागि खाना बस्नको लागि सुविधा सम्पन्न रिसोर्ट समेत नेपानेमा छ । साहसिक पर्यटनको रुपमा लिइने बञ्जी महँगो ठान्नेले पिङ, ‘स्काई चियर’, हत्केला र हल्लिने भ¥याङको बाटो रुखचढ्ने खेल रोज्ने गरेका छन् ।

कोरोना महामारीले थला परेको व्यवसाय विस्तारै तङ्ग्रिएसँगै संरचनासमेत थप भइरहेका अध्यक्ष कार्कीले बताउनुभयो । यहाँ निजी क्षेत्रको झण्डै रु २५ करोड लगानी भएको छ । बञ्जीका लागि बनाइएको झोलुङ्गे पुल फरक प्रकृतिको छ । नजिकै रहेको यान्त्रिक पुल, त्योभन्दा केही पर रहेको झोलुङ्गे पुल तर्ने भन्दा निश्चित शुल्क तिरेर बञ्जीको पुल तर्नेहरुको कमी छैन । यहाँ निजी क्षेत्रको लगानीमा बनेका संरचनाकै कारण सिरुको बगर भनेर चिनिने नेपानेले मुहार फरेको छ भने यहाँका अन्य आर्थिक क्षेत्रलाई समेत चलायमान गराइरहेको ‘द क्लिफ’ सञ्चालक समितिका सदस्य नेत्र पराजुली बताउनुहुन्छ ।-रासस

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology