पुर्वी नवलपरासीमा प्रत्येक १० हजारमा १ जनालाई कुष्ठ रोग

NAWALPUR TIMES

पुर्वी नवलपरासीमा प्रत्येक १० हजारमा १ जनालाई कुष्ठ रोग
kustarog

कावासोती :  पुर्वी नवलपरासीमा प्रत्येक १० हजार जनामा एक जनालाई कुष्ठ रोग लाग्ने गरेको छ । स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार जिल्लाको जनसंख्याको अनुपातमा प्रत्येक १० हजार जना मध्ये १ जना कुष्ठ रोगका बिरामी फेला परेका हुन । त्यसै गरि जिल्लामा प्रति १ लाख जनसंख्यामा ८ जना नयाँ बिरामी फेला पर्ने गरेको स्वास्थ कार्यालय पुर्वी नवलपरासीका प्रयोगशाला सहायक डिल्लीराम तिवारीले जानकारी दिनु भयो ।

तिवारीका अनुसार आर्थिक वर्ष ०७९÷८० को पुस मसान्तसम्म जिल्लामा २८ जना कुष्ठ रोगका बिरामीहरु उपचाररत रहेका र १२ जना बिरामी निको भएका हुन । गैंडाकोट नगरपालिकामा ६ महिला र ६ पुरुष गरेर १२ जना, कावासोतीमा ४ महिला र १ पुरुष गरेर ५ जना, देवचुलीमा ३ महिला र ३ पुरुष गरेर ६ जना, विनयी त्रिवेणीमा २ महिला र १ पुरुष गरेर ३ जना, मध्यविन्दु मा १ जना महिला र हुप्सेकोट गाउँपालिकामा १ महिला सहित २८ जना बिरामी रहेका तिवारीले बताउनु भयो । बहु औषधि उपचार विधिले उपचार भैरहेका २८ जना बिरामी मध्ये २७ जनाले १२ महिना औषधि खाए पछि उपचार पूरा हुने तथा १ जनाले ६ महिना औषधि खाए पछि निको हुने तिवारीले बताउनु भयो ।

माईक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग रोगीको सम्पर्कमा रहने ब्यक्तिलाई स्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ। रोग सरेको २ देखि ५ वर्षमा मात्र यसको लक्षण देखिने स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव चापागाईंले बताउनु भयो ।उहाँका अनुसार शरीरको कुनै भागमा छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दागहरु देखा पर्नु सुरूको चिन्ह हो। यस्तै अनुहार र कानका लोतीमा गिर्खाहरु देखिनु, छाला चम्किलो र बाक्लो हुनु, तथा आँखीभौं झरेर जानु पनि कुष्ठरोगका लक्षण हुन् ।कुष्ठरोग दोस्रो चरणमा प्रवेश गरे स्नायूमा असर पर्न गई हात खुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने र पछि गएर हातखुट्टाका औला कमजोर भई अन्त्यमा अङ्गभङ्ग हुने सम्भावना रहेको हुन्छ । सरकारले देशका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ ।–––

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology