पिसिआर नेगेटिभ आउनेहरु होटल क्वारेन्टाइनमा बस्नु पर्दैन: मन्त्री भट्टराई

NAWALPUR TIMES

पिसिआर नेगेटिभ आउनेहरु होटल क्वारेन्टाइनमा बस्नु पर्दैन: मन्त्री भट्टराई
FB IMG 15982752621791095

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् ।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।

‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ,’ मन्त्री भट्टराईले भने,’नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइननमा बस्ने प्रतिबद्धतासहित घर जान दिइन्छ ।’

सरकारले विभिन्‍न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्‍वारेन्टाइनमा ७ दिन राख्‍ने निर्णय गरेको थियो । मन्त्री भट्टराईले कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्‍वारेन्टाइनमा बस्‍नु नपर्ने बताए । पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए ।

पीसीआर परीक्षण नगरी आउनेहरु होटल क्‍वारेन्टाइनमा

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ । अर्को देशबाट आएर क्‍वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च बेहाेर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्‍वारेन्टाइनमा बस्न सकिने बताए ।

उनले भने, ‘सात रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ । यदि एक कोठामा २ जना बस्ने हो भने । सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ । दिनको १५ सयको हाराहारीमा हुन्छ । ’

‘होटलहरु स्वास्थ्य मापदण्ड पूरा गरेको, गेट र कम्पाउण्ड भएको, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाईफाई हुनुपर्छ,’ उनले भने, ‘एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ । ४ पटक खाजा र खाना दिनुपर्छ । त्यो भन्दा महँगोमा बस्छौं भन्नेका लागि २५ सय र ४ हजार भन्दा बढीका होटलहरु पनि छन् ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology