पाँच वर्ष मुनिका बालबालिकालाई मास्क लगाइदिँदा ख्याल गर्नुपर्ने कुरा यस्ता छन्

NAWALPUR TIMES

पाँच वर्ष मुनिका बालबालिकालाई मास्क लगाइदिँदा ख्याल गर्नुपर्ने कुरा यस्ता छन्
children wearing mask11630319507

थुप्रै अभिभावकले आफ्ना साना बालबालिकालाई मास्क लगाइदिने गरेको देखिन्छ।

तर हालसालै संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय युनिसेफले पाँच वर्षमुनिका बालबालिकालाई मास्क लगाउन अनिवार्य नरहेको सूचना प्रवाह गरिरहेको छ।

लगाउनै परे अभिभावकले आफ्नो प्रत्यक्ष निगरानीमा लगाइदिनुपर्ने युनिसेफले जनाएको छ।

युनिसेफको वेबसाइटमा भनिएको छ, “यदि तपाईँको ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउन आवश्यक छ भने, उनीहरू सधैँ तपाईँले सुपरिवेक्षण गर्न सक्ने गरी प्रत्यक्ष निगरानीमा भएको निश्चित गर्नुहोस्।”

मास्क लगाउन आवश्यक छ कि छैन?

मन्त्रालयका प्रवक्तासमेत रहेका बाल रोग विशेषज्ञ डाक्टर कृष्णप्रसाद पौडेल पाँच वर्षमाथिका बालबालिकालाई मास्क लगाउन अनिवार्य भए पनि पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य नरहेको बताउँछन्।

पाँच वर्षमुनिका बालबालिकाले नाक मुख ढाक्ने गरी मास्क प्रयोग गर्न अप्ठ्यारो हुने कारणले विश्वव्यापी रूपमा मास्क लगाउन नसुझाइने गरेको उनले बताए।

तर कोरोनाभाइरसका नयाँ र बढी सङ्क्रामक भेरिअन्टहरू देखिएको खबर आइरहँदा घरबाट बाहिर निस्किँदा ३ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्ने उनी बताउँछन्।

नेपालको सन्दर्भमा बालबालिकाहरू तीन वर्षदेखि नपुग्दैदेखि मन्टेश्वरी जाने गरेकाले तीन वर्षमाथिका बालबालिकालाई नाक मुख छोपिने गरी मास्क लगाइदिन उनी सुझाउँछन्।

बीबीसीसँग उनले भने, “पाँच वर्षभन्दा तल उमेरका बालबालिकालाई स्कूल पठाउने कुरा डब्लूएचओ, युनिसेफ कसैले पनि सुझाउँदैनन्। विद्यालय जाने उमेर भनेको पनि पाँच वर्षभन्दा माथि नै हो। हाम्रोमा छिटो पठाइन्छ त्यो फरक कुरा हो।”

मन्त्रालयले पनि गत साउनमा पाँच वर्षमुनिका बालबालिकालाई मास्क लगाउन अनिवार्य नरहेको जनाएको थियो।

मन्त्रालयले आफ्नो सूचनामा भनेको छ, “सामान्यतया, पाँच वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।”

तर त्यति बेला अधिकांशजसो विद्यालयहरू भौतिक रूपमा खुलेका थिएनन्।

अहिले सङ्क्रमण दर घटेसँगै विद्यालयहरू खुल्न थालेका छन् र धेरै अभिभावकहरू बालबालिकालाई विद्यालय पठाउँदा मास्क लगाउने वा नलगाउने भन्ने दुबिधामा रहेको देखिन्छ।

कतिपयले सङ्क्रमणको डरले विद्यालय नै नपठाएको पनि देखिन्छ।

नेपालको सन्दर्भमा पाँच वर्ष नपुगेका बालबालिका पनि विद्यालय जाने गरेकाले अभिभावक र शिक्षकले विशेष ख्याल पुर्‍याउनुपर्ने उनले बताए।

“३ देखि ५ वर्षका बालबालिकाले नाक मुख छोपिने गरी मास्क लगाउन सक्दैनन् त्यो हिसाबले भिडभाडमा जाँदा अभिभावकले, विद्यालयमा शिक्षक र विद्यालयको बसमा कर्मचारीले मास्क लगाएको मिलेको छ छैन हेर्दिनुपर्छ,” उनले भने।

अर्का बाल रोग विशेषज्ञ तथा नेपाल पेडियाट्रिक सोसाइटीका पूर्व अध्यक्ष कृष्णप्रसाद विष्ट भन्छन्, “विभिन्न देशको विभिन्न प्रोटोकल छ। तर भन्न खोजिएको के हो भने सानो बालबालिकाले मास्क लगाउँदा जुन उनीहरूले अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्छन् मास्क लगाएपछि त्यो फाल्न सक्दैनन् र टक्सिसिटी(विषाक्तता) हुन्छ भनेर हो।”

अन्य देशमा के छ नियम?

अमेरिकाको रोग नियन्त्रणसम्बन्धी निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले भने दुई वा त्योभन्दा बढी उमेरका बालबालिकालाई मास्क लगाउन सुझाएको छ।

अन्य केही मुलुकमा भने मास्क लगाउनुपर्ने आवश्यकतालाई खुकुलो पारिएको छ।

जस्तै यूकेमा कक्षाकोठामा बस्दा बालबालिका वा शिक्षकले मास्क लगाउनुपर्छ।

सिङ्गापुरमा पाँच वर्ष माथिकाले अनिवार्य लगाउनुपर्ने भए पनि त्योभन्दा कम उमेरका बालबालिकाले पनि लगाएको पाइन्छ।

साना बालबालिकाले मास्क लगाउनुपर्ने विषयमा अहिलेसम्म विश्वव्यापी रूपमा स्वीकार्य सहमति भनेको दुई वर्षभन्दा मुनिका बालबालिका वा शिशुलाई उकुसमुकुस हुन सक्छ भन्ने कारणले मास्क लगाउनुपर्दैन भनिएको हो- बिबिसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology