पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै मध्यविन्दुका टङ्कप्रसाद

NAWALPUR TIMES

पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै मध्यविन्दुका टङ्कप्रसाद
download

कावासोती । नवलपुर  मध्यविन्दु नगरपालिका–१ का टङ्कप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् ।

तेह्र वर्ष साउदी अरब बसेर स्वदेश फर्किएका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् । “दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो, आफ्नै गाउँमा केही गर्ने इच्छा बाँकी नै थियो”, उनले भने, “पशुपालन गरेर अहिले आफ्नै माटोमा इच्छा पूरा गरिरहेको छु ।”

‘श्रुतिका पशु तथा कृषि फार्म’ स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेका अधिकारीले आफ्नो परिवारसँगै केही स्थानीलाई रोजगारीसमेत सिर्जना गर्न सफल भएका छन् । यसले उनलाई नेपालमा नै केही सम्भव छ भन्ने आशाको दियो जलाएको छ ।

“विदेशबाट नेपाल फर्केपछि केही समय कपडा व्यवसाय पनि गरेँ”, उनले भने, “घरमै भएको दुई वटा भैँसीबाट श्रुतिका पशु तथा कृषि फार्म स्थापना गरेर व्यावसायिक पशु पालन सुरु गरियो ।” व्यवसाय सञ्चालन पूर्व उत्पादित दूधको बजार व्यवस्थापनलाई चुनौती मानेका अधिकारीले फार्ममा उत्पादन हुने सबै दूध अहिले घरबाट नै बिक्री हुने गरेको छ । “स्थानीय छिमेकीदेखि व्यवसायी दूध खरिदको लागि गोठसम्म नै आउने गर्नुभएको छ, बजारको कुनै समस्या नै छैन”, उनले भने ।

सुरुआतमा थोरै पशुपालनबाट सुरु गरेको गोठमा अहिले ५० भन्दा बढी गाईभैँसी रहेका छन् । वित्तीय संस्था, साथीभाइको सरसापटबाट विस्तार गर्दै अहिले व्यवसायलाई दिगोरूपमा सञ्चालन गर्न सफल भएको अधिकारीले बताए । “विदेशको कमाइ, साथीभाइको सहयोग, वित्तीय संस्थाको ऋणबाट व्यवसाय थप गर्दै यहाँसम्म ल्याएको छु”, उनले भने, “मध्यविन्दु नगरपालिका र नेपाल सरकारबाट मेरो कामको मूल्याङ्कन गर्दै सहयोग प्राप्त भएको छ ।”

सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट समेत सहयोग प्राप्त भएपछि व्यवसाय विस्तार तथा सुदृढीकरणमा मद्दत पुगेको अधिकारीले बताए ।

फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिन गायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ ।

उनले आफ्नै पौरख, परिवारको साथ र सरकारको सहयोग प्राप्त हुनसक्दा व्यावसायिक सफलता प्राप्ति हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology