पशुपतिनाथ मन्दिर क्षेत्रबाट घाट हटाउने प्रस्ताव

NAWALPUR TIMES

पशुपतिनाथ मन्दिर क्षेत्रबाट घाट हटाउने प्रस्ताव
1622862164774

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।

यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ ।

पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । “विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो”–उनले भने ।

कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ ।

भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहनुभएका ढकालले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ ।

आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने निष्कर्षमा कोष पुगेको छ । पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा शवदाह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न नहुने उनको भनाई छ । गोरखापत्र दैनिकमा खबर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology