पशुपतिको आरती व्यवस्थित गर

NAWALPUR TIMES

पशुपतिको आरती व्यवस्थित गर
20230213 180212 scaled

सालिक राम कोइराला/कावासोती

विश्वका सनातन हिन्दुधर्मावलम्वीहरूको आस्था र बिश्वासको धरोहर पशुपतिनाथ मन्दिरको संन्ध्याकालिन आरतीलाई तत्काल व्यवस्थित गर्नूपर्ने भएको छ। आरती व्यवस्थित नहुँदा हजारौं भक्तजनले दिनहुँ सास्ती भोगिरहेका छन्। यहाँको भद्रगोल परिपाटीलेगर्दा स्वदेशी र विदेशी श्रद्वालु भक्तजन वर्षौदेखि मारमा परेका छन् तर सम्वन्धित पक्षलाई कुनै वास्तै छैन।

संसारका हिन्दुहरूको महान पर्व शिवरात्री भित्रिन साता दिन पनि बाँकी छैन। तर पशुपतिको वर्षौदेखि संन्ध्याकालिन आरतीको हविगत भने अझै सुध्रन सकेको छैन। संस्कृति मन्त्रीको चुरिफुरी र नजर अन्यत्र परेपनि पशुपतिले तेजोवध गरिदिएको छ। उनलाई संसारको धरोहरलाइ कसरी व्यवस्थित गर्ने भन्ने अक्कल छैन। पशुपतिले वर्षेनी करोडौँ कमाएको छ, सैंयौलाई रोजगारी दिएको छ र हजारौँको दाना-पानीको जोहो मिलाईदिएको छ। तैपनि यसको श्रीवृद्विमा राज्यस्तरबाट सानो कुरामा ध्यान नपुर्याउँदा आरतीमा पुगेकालाई निकै कुरा खट्किएको महसुस हुनेगरेको छ।

पशुपतिको दक्षिण-पूर्वि ढोकाको तटमा बगेकि वाग्मती जसलाई आर्यघाट भनिन्छ यो नै प्रदूषित र कलुषित छ। सन्ध्याकालिन आरतीको समयमा वारिपट्टी मुर्दा जलिरहेका हुन्छन्। मानिसहरू कंकला स्वरमा चिच्याई-चिच्याई छाती पीटिपिटी रोईरहेका हुन्छन् । पारिपट्टी “ॐ जय जगदिश्वर” को ध्वनी सहित जय-जयकारको आरती चलिरहेको हुन्छ। एउटा बीभत्स कारूणिक रोदनको दृश्य र अर्को हर्ष, उमङ्गको गीत-संगीत, कर्तुलध्वनी र तालीको गडगडाहट।आफन्त जल्दै गरेको स्थानमा गुञ्जिने गीत-संगीतले शोकाकुल परिवारलाई अझ स्तब्ध तुल्याउने गरेको छ।

पशुपतिको दक्षिण-पूर्वि ढोका तटमा बहने वाग्मतीको आर्यघाट जहाँ तीनसय मिटर किनारामा शव दाह नगरे हुँदैन ? यसो गर्दा संसारका हिन्दुहरूको धरोहर अझ सफा सुग्घर र सौम्य हुन्छ। मृत्यूका रोदन र शवको गुप्ताङ र फोहरमा पशुपतिको आरतीलाई गिजोल्नु हुँदैन। आरती चलिरहेको बेलामा शंख फुक्दै शव ल्याउने र अन्तिम संस्कार गर्ने प्रचलन यथावत छ। संस्कार सकेपछि शवको कपडा खोल्ने र गुप्ताङ पखालेर फोहर जति वाग्मतीमै बगाउने यस्तो तमाशाले वाग्मती सभ्यता र हाम्रो आरती महिमा जोगिएला र ?

आरतीको समयमा हजारौ श्रद्वालु भक्तजन वाग्मतीको आर्यघाट तटमा जमघट हुन्छन्। स्वदेशीका अतिरिक्त विदेशी भक्तजन पनि संध्याकालिन आरती हेर्न झुम्मिएर आएका हुन्छन् । तर उनिहरू बस्ने ठाउँनै हुँदैन। दक्षिण तर्फको वार-पार गर्ने पुलभरि भक्तजन हुन्छन्। जसका कारण पुलले भारथेग्न नसकेर जुनसुकै बेला भयानक दुर्घटना हुने भय रहेको छ। प्रयाप्त शुरक्षा व्यवस्था नहुँदा आरतीकै समयमा पाकेटमारले धेरैलाई रूवाउने गरेको छ।

आरती स्थलमै प्रयाप्त सर-सफाई छैन। सात पत्र फोहर जमेका सुकुल हुन्छन्। न त पण्डा- पण्डित, न त कलाकार कसैलाई उपयुक्त बस्ने ठाउँ छैन। पुजा-पाठ र आरती भनेकै चोखो नित्य हुनुपर्छ। यसतर्फ पनि पटक्कै ध्यान दिईएको छैन।श्रद्वालु भक्तजन बस्न र हेर्न पनि निकै असुविधा रहेको छ। त्यतिमात्र हैन करोडौँ कमाउने पशुपतिनाथ मन्दिर, आरती भने दैनिक कर्ता, चन्दा र दान-दातव्यबाट चलेको छ। संसारकै वैभवले धनी भएपनि पशुपतिको आरतीले यसका शंरक्षक, संचालक, क्षेत्र विकास र सरकार कति कंगाल मानसिकताको छ भन्ने कुरा प्रष्ट हुन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology