पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

NAWALPUR TIMES

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक
KD Kaski 092019 view 768x282 1

पोखरा, ११ असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् ।

हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र दोसल्लासहित भव्य स्वागत गरेर कार्यक्रम गर्दै आएकामा यस वर्ष कुनै पनि कार्यक्रम नगरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यस वर्ष पर्यटक लक्षित कार्यक्रम राखेनौँ, कोभिड–१९ ले आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य छ, भीडभाडमा कोरोनाको जोखिम पनि उच्च रहने भएकाले यस वर्ष औपचारिक कार्यक्रम नगर्ने निर्णयमा पुगेका हौँ ।” उहाँले पर्यटन क्षेत्र चलायमान र भावी रणनीतिका विषयमा व्यवसायीबीच भर्चुअल अन्तरक्रिया गरिने जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान पश्चिमाञ्चलले भने ग्रामीण पर्यटन प्रवर्धनले जोड दिएर विश्व पर्यटन दिवस मनाउँदै आएकामा यस वर्ष फेवाताल पारी एक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेप्टेम्बर २७ ग्रामीण पर्यटनलाई जोड दिएर ग्रामीण भेगमा नै पुगेर भव्यरूपमा कार्यक्रम गर्दै आएका थियौँ, तर अहिले कोभिड–१९ का कारण गाउँकेन्द्रित कार्यक्रम गर्न असमर्थ भयाँै । यस वर्ष प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा फेवातालपारि किनारमा ‘फेवा फुट ट्रेल–वस्तुगत अध्ययन’ साथै कोभिडपछिको पर्यटन विषयलाई केन्द्रित गरेर कार्यक्रम तय गरेका छौ ।” यो खबर आजको गोरखापत्रले छापेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology