पर्यटकको पर्खाईमा लुम्बिनी

NAWALPUR TIMES

पर्यटकको पर्खाईमा लुम्बिनी
popular places must visit sites nepal lumbini

रूपन्देही। कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ।

 

लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन्।

 

लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन्।

 

मायादेवी क्षेत्र खुलेसँगै उत्साहित भएका व्यवसायीलाई अहिले लामो समयदेखि बन्द रहेका होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्याल ढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ।

 

कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन्। “लुम्बिनी खुलेको घोषणाले यहाँका व्यवसायीलाई ठूलै उत्सव वा चाड आएको अनुभूति भएको छ”, लुम्बिनी होटल व्यवसायी संघका महासचिव लीलामणि शर्मा भन्छन्।

 

यहाँ सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने तयारीसमेत गरिएको छ।

 

कोरोना सङ्क्रमणको रोकथामका लागि होटललाई पटकपटक स्यानिटाइजेसन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेसन गर्ने काम भइरहेको छ।

 

राम्रो सरसफाइ गरी होटल, माला पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकलाई स्वागत गर्ने तयारी उनीहरुको छ। होटल तथा आफ्ना व्यवसायलाई पुरानै लयमा फर्काउन उनीहरुलाई अहिले भ्याइनभ्याइ छ।

 

“लामो समयदेखि बन्द रहेका होटल तथा अन्य व्यवसायको सरसफाइ तथा व्यवस्थापनका काम सम्पन्न गरेर पर्यटकको पखाईमा छौँ, लामो समयकोे बन्दले हामी थप गुणस्तरीय सेवा दिनसक्ने गरी तयार भएका छौँ”, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन्।

 

सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र पनि पर्यटकका लागि खुला गरिएको हो। मायादेवी मन्दिर नखुले पनि पवित्र उद्यान क्षेत्र खुलेसँगै यहाँका व्यवसायी, लुम्बिनी विकास कोष तथा भिक्षु भिक्षुणी मिलेर मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन गर्ने, पूजापाठ गर्नेलगायतका काम सुरू गरिएको छ। हरेक दिन साँझमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी कोरोना महामारी अन्त्यको कामना गरिएको छ।

 

यससँगै लुम्बिनी विकास कोषले पनि आठ महिना अवधिको सदुपयोग गर्दै केही सौन्दर्यीकरणका काम सम्पन्न गरेको छ भने केही सुरू गरेको छ।

 

लामो समयपछि पर्यटक आउँदा उनीहरूलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यकरणका काम गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)को भनाइ छ।  रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology