पद्मश्री साहित्य र साधना सम्मान रद्द

NAWALPUR TIMES

पद्मश्री साहित्य र साधना सम्मान रद्द
1601344587.modnath and k 1

काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरेको छ।

 

पुरस्कृत र सम्मानित दुवैजना विवादमा फसेपछि छुट्टाछुट्टै विज्ञप्ति निकालेर पुरस्कार र सम्मान अस्वीकार गर्ने घोषणा गरेसँगै प्रतिष्ठानले रद्द गरेको हो।

 

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्तिमार्फत् भनेका छन्, “यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरूको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ।”

 

विवादपछि निम्तिएको असहजताले प्रतिष्ठान परिवार दुःखी रहेको भन्दै कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने उद्देश्य नभएको अध्यक्ष लामिछानेले बताए। उनले सम्मानित र पुरस्कृत स्रस्टा तथा साहित्यप्रेमीको अत्मसम्मानमा पर्न गएको ठेसप्रति क्षमायाचना गरेका छन्।

 

२०६३ सालदेखि संस्थाले प्रत्येक वर्ष कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र २०७६ सालदेखि पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ।

 

यस वर्ष सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई पद्मश्री साहित्य पुरस्कार र मोदनाथ प्रश्रितलाई सम्मान गर्ने प्रतिष्ठानले जनाएको थियो।

 

लगत्तै उप्रेतीले प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने घोषणा गरेका थिए। प्रश्रितलाई यौन उत्पीडनको आरोप लागेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology