नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीलाई बासु रोटरी सुशासन अवार्ड

NAWALPUR TIMES

नेपाल प्रेस युनियनका महासचिव  शिवाकोटीलाई बासु रोटरी सुशासन अवार्ड
1613755208459

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड नेपाल प्रेस युनियनका महासचिव एवं हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई शुक्रबार एक भब्य समारोहबीच प्रदान गरिएको छ ।

तत्कालिन संचार मन्त्री गोकुल बाँस्कोटा र सभामुख कृष्ण बहादुर महरा प्रकरण पहिलोपटक सार्वजनिक गरेका प्रधान सम्पादक शिवाकोटीलाई रोटरी वर्ष २०१९–२० अवसर पारेर पाँच लाख रुपैंयाँ राशी नगदसहित अवार्ड प्रदान गरिएको हो ।

रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहता, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, अवार्डका संस्थापक तथा रोटरी क्लब अफ यल (पाटन ललितपुर) का पूर्व अध्यक्ष सुरेन्द्र गोविन्द जोशी, श्रीमती बद्रीलक्ष्मी जोशीलगायतले पुरस्कार राशी र सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शिवाकोटी र रिजाललाई पाँच पाँच लाख रुपैंयाँ राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड ग्रहण गर्दै आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल

आर्थिक दैनिकका सम्पादक रिजालले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितताबारे पहिलो पटक समाचार सार्वजनिक गरेका थिए । दर्जनौं नेताहरु र प्रतिष्ठित ब्यक्ति विवादमा तानिएको उक्त प्रकरणमाथि अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा तत्कालिन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडिओ पहिलो पटक सार्वजनिक गरेका शिवाकोटीले तत्कालिन सभामुख महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि कोठामा गएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएको घट्ना पहिलो पटक सार्वजनिक गरेका थिए ।

चर्चित उक्त काण्डपछि बाँस्कोटा र महरालाई पदबाट राजीनामा दिनुपरेको थियो । यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology