नेपाल टेलिकमले शुरु गर्‍यो ई–शिक्षा प्याकेज

NAWALPUR TIMES

नेपाल टेलिकमले शुरु गर्‍यो  ई–शिक्षा प्याकेज
FB IMG 15883522929520458

काठमाडाैं। नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई-शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याइएको उल्लेख छ।

“विशेष ई–शिक्षा प्याकेजअन्तर्गत २६० रूपैयाँमा ६ जीबी र ५०० रूपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ, २६० रूपैयाँमा प्राप्त हुने कूल ६ जीबीमध्ये तीन जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी तीन जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ”, विज्ञप्तिमा उल्लेख छ। यसैगरी ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा मात्र प्रयोग गर्न सकिने र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ।

ई-शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ। बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन पाँच घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको प्रणालीबाटै व्यवस्थित गरिने टेलिकमले जनाएको छ।

हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरू विश्वविद्यालय र विद्यालयको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकलाई कम्पनीले उपलब्ध गराउने छ। कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरूले प्याकेज प्रदान गर्नुपर्ने नम्बरको सूचीसहित सिफारिस पठाउनु पर्नेछ। सिफारिस प्राप्त भएका नम्बरलाई *1441# डायल गरी प्याकेज खरिद गर्नका लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ। एसएमएस प्राप्त भएपछि तिनै नम्बरबाट *1441#  डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ ।

कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology