नेपाली ल्याउन विमान पठाइँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २३ गते ८:३८
नेपाली ल्याउन विमान पठाइँदै
ISRAEL attack 1024x655 1

कावासोती । सरकारले इजरायलमा जोखिममा रहेका नेपालीलाई उद्धारका लागि प्रक्रिया सुरु भइसकेको जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले युद्धका कारण जोखिममा परेर नेपाल फर्कन चाहनेहरूको सूची तयार भइसकेपछि विमान इजरायल पठाउने जानकारी दिए ।

मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुरुन्त अघि बढाउने निर्णय गरेको थियो ।

‘जोखिममा परेका नेपालीहरूको अनलाइनमार्फत विवरण संकलनको काम भइरहेको छ । नेपाल आउन चाहनेहरूको संख्या यकिन भइसकेपछि जतिसक्यो छिटो जहाज पठाइनेछ,’ उनले भने, ‘त्योभन्दा पहिले जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानतिर ल्याउने कामलाई तीव्रता दिइएको छ ।’ मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमाल एयरलाइन्स विमान चार्टर्ड गर्ने निर्णय गरिसकेको छ । परराष्ट्रले काठमाडौंस्थित इजरायली राजदूतावासमार्फत विमान चार्टर्डका लागि संवाद सुरु गरेको छ । ‘इजरायलमा आपत्कालीन उद्धारका लागि विमान पठाउने प्रक्रिया मिलाउन त्यहाँको सरकारसँग कुराकानी भइरहेको छ’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन्, ‘जहाज पठाउने प्रक्रिया पूरा हुनासाथ उद्धारका लागि जहाज पठाइनेछ ।’ उनले इजरायलमा मृत्यु भएका १० नेपालीको शव ल्याउनेबारे आवश्यक प्रक्रियासमेत अघि बढिसकेको जानकारी दिइन् ।

‘शव ल्याउने प्रक्रिया तीव्र गतिमा भइरहेको छ । शव ल्याएर आफन्तलाई हस्तान्तरण गर्ने सबै तालिका बनाउँदै छौं’ उनले भनिन्, ‘परराष्ट्रले इजरायलमा रहेको दूतावाससँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको छ ।’ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्नेछ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउनेछ । अनलाइन फाराम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालीका शव ल्याउन जहाज पठाउने तयारी भइरहेको जानकारी दिए । ‘त्यही जहाजमा नेपाल फर्कन चाहनेहरूलाई पनि ल्याइनेछ’ उनले भने, ‘आउन चाहने नेपालीको संख्याअनुसार जहाजको व्यवस्था गर्ने निर्णय भएको छ ।’ इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्नेछ ।

नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्को विशेष बैठकले निर्णय गरेको छ । सरकारले उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सोमबारको बैठकले निर्णय गरेको छ । इजरायलमा करिब ४ हजार ५ सय नेपाली छन् ।

मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने गरी सरकारले निर्णय गरेको छ । ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।’

इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । सरकारले इजरायलमा रहेका नेपाली र त्यहाँ रहेका नेपालीका परिवारलाई थप आघात नपुर्‍याउन र संयम रहनसमेत आग्रह गरेको छ ।

 

प्रकाशित : २०८० असोज २३ गते ८:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI