कावासोती । गत साता सारा नेपाली क्रिकेटप्रेमीहरुको ध्यान राष्ट्रिय पुरुष क्रिकेट टोलीमाथि केन्द्रित रह्यो। नेपाली क्रिकेटमा नयाँ इतिहास रच्ने तयारी गरिरहेको महिला क्रिकेट टोली भने छायाँमा पर्यो। एशिया कपमा पहिलो ऐतिहासिक सहभागिता तथा भारत र पाकिस्तानजस्ता क्रिकेटका शक्ति राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने विषयले सबैको ध्यान आकृष्ट गर्नु स्वाभाविक थियो।
पुरुष क्रिकेटले पाकिस्तान र श्रीलङ्कामा खेलेर मनग्गे चर्चा बटुलिरहेकै बेला राष्ट्रिय महिला क्रिकेट टोलीले भने मलेशियामा चुपचाप अर्को इतिहास रच्ने तयारी गरिरहेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आयोजना गर्ने २० ओभरको महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोट मलेशियामा भइरहेको छ। यसमा नेपाली महिला टोलीले लगातार लिग चरणका चार खेल जितिसकेको छ र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
बुधवार लिग चरणको नेपालको अन्तिम खेल यूएईविरुद्ध थियो। तर वर्षाका कारण खेल रद्द भएपछि नेपाल लिगमा समुह उपविजेतामा सीमित भयो। समान अङ्क भए पनि रन रेटको आधारमा यूएई समुह विजेता बन्यो।
समूह चरणमा नेपालको प्रदर्शन
गत भदौ १४ बाट सुरु भएको प्रतियोगिता भदौ २३ गते सम्पन्न हुन्छ। कुल ११ वटा एशियाली राष्ट्रले प्रतिस्पर्धा गरेको छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा थियो। यो समूहमा यूएई, कतार, मलेशिया, भुटान र बहराइन थिए। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड थिए। नेपालले पहिलो खेलमा आयोजक मलेशियालाई मुस्किलले पाँच रनले पराजित गर्यो। नेपालले पहिलो ब्याटिङ गरी ८४ रन मात्र जोड्न सकेको थियो। जबाफी ब्याटिङमा उत्रिएको मलेसिया एक समय जित नजिक पुगिसकेको थियो। तर २४ बलमा जितको लागि १७ रनमा त्र बनाउन बाँकी रहेको र ७ विकेट हातमा रहेको बेला नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गर्दै मलेसियालाई ७९ रनमा नै रोक्न सफल भए। अर्को खेलमा भने नेपालले बहराइनलाई सजिलै १० विकेटले पराजित गरेको थियो। पहिलो ब्याटिङ गरेको बहराइनलाई ३१ रनमा नै सीमित पार्दै टोलीले २.५ ओभरमा विना विकेटको नोक्सानी लक्ष्य पूरा गरेको थियो।
नेपालको सेमिफाइनल यात्रा
तेस्रो खेलमा भुटानलाई हराउन भने नेपाली महिला टोलीले धेरै सङ्घर्ष गर्नुपर्यो। पहिलो ब्याटिङ गरेको भुटानले जितको लागि ४० रनको सामान्य लक्ष्य दिएको थियो। तर नेपालका सुरुआती ब्याटरहरु कविता कुँवर, अश्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भएपछि नेपाल एकाएक दबावमा परेको थियो। तर नेपालले १३.२ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। चौथो खेलमा कतारलाई नौ विकेटले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो। कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो।
ग्लोबल छनोटको मौका
शुक्रवार थाइल्यान्डलाई पराजित गर्न सके नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछ। ग्लोबल क्वालिफायरमा एशियाबाट दुई, अफ्रिकाबाट दुई, यूरोपबाट दुई, अमेरिकाबाट एक र पूर्वी एशिया प्रशान्त क्षेत्रबाट एक गरी आठ राष्ट्र छनोट भएर आउनेछन्। यी आठ टोलीमा श्रीलङ्का र आयरल्यान्ड थपिने छन् र १० टोलीबीच ग्लोबल क्वालिफायर हुने आइसीसीले जनाएको छ। यी १० टोलीबाट शीर्ष दुई टोली विश्वकपमा छानिनेछन्। महिला विश्वकप क्रिकेट भने सन् २०२४ मा बाङ्गलादेशमा आयोजना हुँदैछ। महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ। हालसम्म महिला विश्वकपमा सहभागी हुने छ टोलीको टुङ्गो लागिसकेको छ। ती टोलीहरु अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज हुन्।
Facebook Comment