नेपालमा देखिएको ‘एवाई १’ म्युटेन्ट कति खतरनाक?

NAWALPUR TIMES

नेपालमा देखिएको ‘एवाई १’ म्युटेन्ट कति खतरनाक?
corona virus 0DeFZFZStn

(कोभिड–१९) को डेल्टा (बी.१.६१७.२) भेरियन्ट म्युटेसन भएर ‘एवाई १’ (AY.1) अर्थात् ‘डेल्टा प्लस’ देखिएको छ । ‘एवाई १’ म्युटेसन ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४७ नमुना परीक्षण गर्दा ९ जनामा उत्परिवर्तित रुप देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । डेल्टा (बी.१.६१७.२) भेरियन्टको विकसित रुप भएकाले यसलाई ‘एवाई १’ अर्थात् डेल्टा प्लस नाम दिइएको छ । नेपालमा हालै पुष्टि भएको ‘एवाई १’ म्युटेट भाइरस भारतलगायत विश्वका १० देशमा देखिइसकेको छ । डेल्टा अर्थात् बी.१.६१७.२ भेरियन्टको म्युटेन्ट ‘एवाई १’ हो ।

देशका विभिन्न भागबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेभ बायोलोजी (आईजीआईबी) ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण पुष्टि भएको थियो । ४७ वटा नमुनामा डेल्टा भेरियन्ट उत्परिवर्तित ‘एवाई १’ म्युटेसन ९ वटामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेल बताउँछन् ।

नेपालमा भेरियन्ट अफ कन्सर्नको रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने जनाएको छ ।

‘एवाई १’ कति खतरनाक ?

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने भनिरहँदा डेल्टा ‘बी.१.६१७.२’ भेरियन्टबाट विकसित भएको ‘ए वाई १’ अर्थात् डेल्टा प्लस कति खतरनाक छ भन्ने अध्ययनकै विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । भाइरसले स्वरुप परिवर्तन गर्ने प्राकृतिक प्रक्रिया हो । डेल्टा भेरियन्टबाट म्युटेसन भएको भाइरस घातक हुन सक्ने आशंका गरिए पनि यसबारे पूर्ण अध्ययनपछि मात्रै यो कति घातक र संक्रामक छ भन्ने थाहा पाउन सकिने उनको भनाइ छ ।

‘डेल्टा भेरियन्टबाट म्युटेसन भएकाले ‘ए वाई १’ बढी घातक हुन्छ भन्ने आशंका गरिएको हो,’ उनी भन्छन्, ‘अध्ययनबिना घातक र तीव्र गतिमा फैलिन्छ भनेर भनिहाल्न सकिँदैन ।’

‘एवाई १’  भाइरसले एन्टिबडीको प्रतिरोध क्षमता कम गर्ने हो कि, डेल्टाभन्दा बढी स्मार्ट हुने हो कि भन्ने चिन्ताले सताउनु स्वाभाविक भएको उनी सुनाउँछन् । नयाँ म्युटेसनबारे अध्ययनको विषय भएकाले सबैभन्दा पहिला सजकता अपनाउनु नै मुख्य कुरा भएको उनको भनाइ छ ।

भारतले पनि ‘एवाई १’ अर्थात डेल्टा प्लसलाई भेरियन्ट अफ इन्ट्रेस्ट र भेरियन्ट अफ कन्सर्नका रुपमा राखेको छैन ।

यता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोनाभाइरसका नयाँनयाँ भेरियन्टसँग जोगिने मुख्य आधार भनेकै जनस्वास्थ्यको नियम पालना हो । डेल्टा प्लस कति खतरनाक छ भन्नेबारे गहनरुपमा अध्ययन भइरहेको उनी बताउँछन् ।

धेरैजसो संक्रमितमा डेल्टा भेरियन्ट

नेपालमा कोरोना संक्रमितमध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको छ ।  देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमुनालाई ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको हो ।

कोरोनाको पुरानो भाइरस अल्फा भेरियन्टको संक्रमण ४८ मध्ये एउटा नमुनामा मात्रै देखिएको छ । अल्फा भेरियन्ट १६४ राष्ट्र भन्दा बढीमा फैलिसकेको छ भने डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो पटक बेलायतमा देखिएको कोरोनाभाइरसको भेरियन्टलाई बी.१.१.७ अर्थात् अल्फा नामकरण गरेको छ । यस्तै दक्षिण अफ्रिकामा देखिएको भेरियन्टलाई बी.१.३५१ अर्थात् बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा, भारतमा देखिएको भेरियन्टलाई बी.१.६१७.२ अर्थात् डेल्टा नाम दिएको छ । भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नाम काप्पा दिइएको छ । नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’का रुपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) र पछिल्लो समय डेल्टा प्लस देखिएको छ ।रातो पाटी बाट

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology