नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ : महामन्त्री थापा

NAWALPUR TIMES

नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ : महामन्त्री थापा
gagan thapa

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन् । आइतबार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन् ।

उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे । आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए । पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भनेका छन्, ‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन । यसलाई बदल्ने कुरा हो । यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब ८÷१० वर्ष ठुलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठुलो, महत्वपूर्ण च्यालेन्ज हो ।’

उनले थप भनेका छन्, ‘हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरीकन हाम्रो पूर्वाधारलाई हामीसँग अहिले स्रोतको अभाव छ । त्यो हामीलाई चाहिएको छ । हामी यो ग्राण्डबाट ल्याउँला, लोनबाट ल्याउँला, डाइरेक्ट इन्भेष्टमेन्टबाट ल्याउँला एउटा पार्ट यो भयो । त्यसपछि हामीले यहाँको इजुकेशन र हेल्थ दुईवटा कुरा । हाम्रो हुमन डेभलपमेन्टको जुन अवस्था छ यो अवस्था नबदलीकन, पूर्वाधारले मात्र हामीलाई पुदैन ।’

त्यस्तै महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए । गैर आवासीय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उनले बताए । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाइ छ ।

उनले थपे, ‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ । जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ । त्यसैगरीकन कता–कता तपाईहरुको लगानीसँग पनि होइन बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि । यहाँ भएको हाम्रो जल, जमिन सबै चलाउँछन् पो हो कि भनेको जस्तो हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन । आफ्नै दाजुभाइहरुसँग,आफ्नै दिदीबहिनीहरुसँग कहिँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology