नेपालबाट हराएका बालिका र किशोरी बिहारमा भेटिए, ‘गायिका बन्न मुम्बई’ जान लागेको बयान

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १८ गते १४:५४
नेपालबाट हराएका बालिका र किशोरी बिहारमा भेटिए, ‘गायिका बन्न मुम्बई’ जान लागेको बयान
1617155198767

महोत्तरी जिल्लाको भँगहा नगरपालिकाको वडा नम्बर ८ बाट मङ्गलवारदेखि हराइरहेका दुई बालिका र पाँच किशोरी भारतको बिहार राज्यको सीतामढी जिल्लामा फेला पारिएको र उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार भारतीय प्रहरी अधिकारीहरूले नेपाल प्रहरीको टोलीलाई सबै बालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया थालेका छन्।

“नेपाली प्रहरी अधिकृतहरूको टोली बालिकाहरू लिएर साँझसम्म नेपाल फर्किनेछ,” डीआईजी सिंहले भने ।

स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई सीतामढीको रेल स्टेशनमा फेला पारिएको थियो।

उनीहरू नेपाल आएपछि उनीहरू कसरी भारत पुगे भने तथ्य खुल्ने सिंहले बताए।

कसरी हराएका थिए?

भँगहा नगरपालिकाको वडा नम्बर ८ धरमपुरमा घाँस काट्न गएका उनीहरू मङ्गलवार दिउँसोदेखि सम्पर्कविहीन थिए।

घरनजिकै रहेको चौरमा घाँस काट्न गएका बालिकाहरू अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।

उनीहरू हराएको खबर प्रहरीले पाएपछि भारतीय प्रहरीको समन्वयमा खोजी थालिएको थियो।

हराइरहेका सबै जना बिहार राज्यको सीतामढी जिल्ला रेलवे स्टेशननजिक अलपत्र अवस्थामा फेला परेको बताइएको छ। स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएपछि उनीहरूको उद्धार गरिएको थियो।

“नेपाली किशोरी र बालिकाहरूले भारतको मुम्बईमा गायिका बन्न जान लागेको बताएका छन्,” एक भारतीय प्रहरी अधिकारीले भने।

“उनीहरू सबै जना भिठ्ठामोड नाकाबाट बस चढेर सीतामढी पुगेका रहेछन्,” रेल्वे प्रहरी सीतामढीका एसपी अशोक कुमार सिंहले बताए।

अहिले कस्तो अवस्थामा छन्?

रेल चढेर उनीहरू मुम्बई जाने प्रयासमा रहेको तर विस्तृत जानकारी नभएको कारण अलपत्र परेको एसपी सिंहले बताए।

उनका अनुसार बालिकाहरूलाई स्थानीयवासीले सीतामढी रेल्वे प्रहरी कार्यालयमा ल्याएका थिए। उनीहरू सबै जनालाई प्रहरीले खाना खुवाएर राखेको सिंहले बताए।

उनीहरूको १० वर्षदेखि १८ वर्षसम्म छ। सबै जना पासवान समुदायका भएको प्रहरीले जनाएको छ।

उनीहरू सबै एउटै टोलका र दाजुभाइका छोरीहरू रहेको बताइएको छ।

कोभिड महामारीका कारण गरिएको कडाका कराण नेपाल र भारतबीचको सीमा अझै नियमित भइसकेको छैन। दुई देशबीचको सीमामा सवारीसाधन सञ्चालनमा नभएकाले मानिसहरू पैदल आवतजावत गर्छन्।

सीतामढी रेल्वे प्रहरी थानामा नेपाली प्रहरी र सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)भारतका अधिकारीहरू समेत पुगेको बताउँदै सिंहले भने, “नेपाललाई सुपुर्दगी गर्ने प्रक्रिया प्रारम्भ भएको छ।”

घरबाट घाँस काट्न हिँडेका बालिकाहरू सीतामढीसम्म पुग्दा कसैले अपहरण अथवा प्रलोभनमा पारेर नल्याएको बताएका छन्। उनीहरू स्वयंले नै ‘गायिका’ बन्न मुम्बई जान लागेको बताएका छन्।

महोत्तरीका एसपी दिनेश आचार्यले जनाएअनुसार अहिले सीतामढीमा दुवै तर्फका प्रहरी अधिकारीहरूले बालिका बुझ्ने प्रक्रिया भइरहेको छ।

प्रकाशित : २०७७ चैत १८ गते १४:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI