निषेधाज्ञाबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि

NAWALPUR TIMES

निषेधाज्ञाबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि
petrol pump thinkstock

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा निषेधाज्ञा जारी गर्दा सर्वसाधारण कष्टकर जीवन भेगिरहेका वेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर थप पीडा दिएको छ ।

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २३, डिजेल तथा मट्टीतेल समान एक सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर वृद्धि हुँदा खरिद गर्ने मूल्य ठूलो अन्तरले बढेका कारण नेपाली बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आइतबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा १०.२० र डिजेलमा ६.१२ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा तीन सय ७५ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान हुने देखिएपछि मूल्य बढाइएको हो ।

‘हामीले १५ दिनअघि पनि बढेको मूल्य पाएका थियौँ । त्यसवेला भर्खर मुलुकमा निषेधाज्ञा सुरु भएका हुँदा उपभोक्तालाई राहत दिनुपर्छ भन्ने लाग्यो र निगमले चर्को नोक्सानी सहेर भए पनि मूल्य यथावत् राखेका थियौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘तर, यसपटक पनि बढेर आएपछि मूल्यवृद्धि गर्न बाध्य भएका हौँ ।’

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६८.७१ डलर प्रतिब्यारेल कायम भएको छ । पछिल्लो एक सातामा प्रतिब्यारेल करिब तीन डलरले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहँदा नेपालीबजारमा समेत वृद्धि गर्न बाध्य भएको निगमको तर्क छ ।

आयल निगमले चालू आवमा जसरी पनि नाफा आर्जन गर्ने उद्देश्यले मूल्यवृद्धि गरेको हो । वैशाख महिनासम्म आइपुग्दा चालू आर्थिक वर्ष ०७७÷७८ को वासलात ऋणात्मक देखिएको थियो । त्यसपछिका दुई महिनामा सामान्य दरमा मूल्यवृद्धि गरेर भए पनि चालू आवको वासलात ऋणात्मक हुन नदिने गरी निगमले सर्वसाधारणको आर्थिक अवस्थालाई ख्यालै नगरी मूल्यवृद्धि गरेको हो ।

निषेधाज्ञायता पेट्रोलियम पदार्थको खपत ५० प्रतिशतमा झरेको छ । तराईको सीमावर्ती क्षेत्रमा हुने इन्धन तस्करी (नेपालबाट सस्तो तेल भारततर्फ जानेक्रम)समेत रोकिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology